बाँके ट्राफिकद्वारा सात महिनामा १ करोड ६३ लाख बढी रकम राजश्व संकलन

१९ हजार ८ सय ६७ सवारी कारवाही


बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१÷८२ मा सात महिनाको अवधीमा १ करोड ६३ लाखभन्दा बढी रकम राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न सवारीबाट जम्मा १ करोड ६३ लाख ९६ हजार ५ सय रकम कारवाही राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तका अनुसार सवारी कारवाही र अन्य विविध कारवाही अन्तर्गत उक्त रकम संकलन गरिएको हो । गत श्रावण महिनामा मात्रै जिल्ला ट्राफिक कार्यालयाद्वारा ट्रक, बस, जिप कार, ट्याक्टर, मोटर साइकल र टेम्पोबाट गरि २१ लाख ४६ हजार रकम राजश्व संकलन भएको छ । यस्तै भदौ महिनामा १८ लाख ८३ हजार, असोज महिनामा २४ लाख चार हजार ५ सय, कार्तिक महिनामा २४ लाख ३१ हजार, मंसिर महिनामा २५ लाख १२ हजार, पुष महिनामा २४ लाख ७५ हजार र माघ महिनामा २५ लाख ४५ हजार रकम राजश्व संकलन गरिएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो । गत सात महिनामा १९ हजार ८ सय ६७ सवारी कारवाही गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । दुर्घटना न्युनीकरण गर्न १२ सय ५ पटक कार्यक्रमहरु संचालन गरिएको थियो । सोबाट हालसम्म करिब ५३ हजार बढि नागरिक तथा सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराएको पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले दुर्घटना न्यूनिकरणको लागि जिल्लाभित्र बिभिन्न ४३ भन्दा बढी स्थानहरुमा सचेतना बोर्डहरु लगाँउदै आएको बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ९२ वटा सवारी दुर्घटनाभएका छन् । सवारी दुर्घटनाबाट ४७ जनाको मृत्यु भएकोे छ भने ५७ जना गम्भिर घाईते र २ सय ५३ जना सामान्य घाईते भएका छन् । सोही अवधीमा १५ छाडा चौपायाको मृत्यु भएको छ भने ६ वटा चौपाया घाईते भएका छन् । उक्त दुर्घटनामा दुई सय ९१ सवारीको संलग्नता रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार