पुरानो घरको नक्सा अभिलेखीकरण गर्दै



बाँके। बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका पुरानो घरको नक्सा अभिलेखीकरण गर्न थालेको छ । चालु आर्थिक बर्षको हिउँदे नगरसभाबाट निर्णय भई नगरभित्र नक्सा पास नगरी बनेका पक्की घरहरुको नक्सा अभिलेखीकरण गर्न थालेको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीका अनुसार नगरबासिले घरनक्सा पास इजाजत नलिई निर्माण भएका घरहरुको घर नक्सा पास, घरको बिमा र बैंकिङ्ग कारोबार लगायत बिषयमा देखिएको समस्याको समाधान खोज्दै आएपछि अभिलेखिकरण गर्न थालिएको हो । नगरपालिकामा घर नक्सा अभिलेखिकरण नगरी यस्ता सरकारी सेवा लिन कठिनाई हुने गर्छ, यीनै विषयलाई ध्यानमा राख्दै कोहलपुर नगरपालिकाले घर नक्सा अभिलेखिकरण सुरु गरेको गिरीले जानकारी दिनुभयो ।

नगरपालिकाको राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउन र कार्यालयमा रेकर्ड कायम गर्ने उद्देश्यले यस प्रकारको अभिलेखीकरणको कार्यक्रम अगाडी बढाइएको गिरीले बताउनुभयो । गत आर्थिक बर्षमा दुइ सय पचास घरको अभिलेखीकरण गरिएको थियो । यस वर्षपनि गत वर्ष अभिलेखिकरण गर्न छुटेका र नयाँ बनेका घरहरुको अभिलेखिकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

नगरपालिकामा बिद्युतिय अभिलेखिकरण गर्नको लागी सिस्टको बिकास भइसकेपनि हालसम्म प्रयोगमा नआइपुगेको तर केही समयमा लागु गर्न सकिने गिरीले जानकारी गराउनु भएको छ ।

नगरक्षेत्रभित्र सम्पन्न भईसकेका घरको नक्सा रजिष्टर कन्सल्टेन्टले बनाएको नक्सा र सम्बन्धित वडा कार्यालयबाट दिएको सिफारिसलाई आधार मानेर नगरपालिकाले पुन नगरपालिकाका ईन्जिनियर मार्फत अनुगमन गराई बैधानिकरुपमा प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका नक्सा शाखा संयोजक तथा ईन्जिनियर मदन पाण्डेले जानकारी गराउनुभएको छ ।

उहाँका अनुसार हालसम्म अभिलेखीकरणका लागि १२ जनाको नक्सा दर्ता भई प्रक्रिया अघि बढाईएको छ । चालु आर्थिक बर्षमा पनि गत बर्षको जतिनै अभिलेखिकरण गर्न सकिने पुर्वानुमान गरिएको छ । पछिल्लो समय घर बनाउने घर धनीलाई घर बनाउँदा नियम पालना गरेर घर बनाउनुपर्ने सोचको विकास भइसकेकाले छुटेका÷थाहा नपाएका घरधनिलाई यस्तो अभिलेखीकरण गर्ने योजना ल्याएको पाण्डेले बताउनुभयो ।

बिना नक्सा बनाइएका पिल्लर घरको नक्सा पास गर्नेुपर्ने हुन्छ । नगरपालिकाबाट घर नक्सा पास इजाजत नलिई निमार्ण सम्पन्न भएका घरहरु नगरपालिकामा नक्सा दर्ता गरी अभिलेखीकरण प्रमाण पत्र लिँदा नगरपालिकामा आफ्नो घरको रेकर्ड रहन्छ । बैँकीङ्ग कारेबारको लागी होस् या घरको बिमा लगायत नगरपालिकाबाट पाउने अन्य सेवासुविधाको लागी समेत सहज हुनेछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहीवार