
बाँके। नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले उत्कृष्ठ काम गर्ने कांग्रेस नेतृत्व पालिकालाई सम्मान गरिने बताउनु भएको छ । बाँकेका आठ वटा पालिका मध्य जुन कांग्रेस जनप्रतिनिधि रहेको पालिकाले जनताको हितको पक्षमा काम गर्छ त्यो पालिकालाई पार्टीको आगामी तेस्रो जिल्ला सम्मेलनमा सम्मान गरिने बताउनुभएको हो ।
शुक्रबार नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा नेपाली कांग्रेसबाट जिल्लाका विभिन्न स्थानीय सरकारको नेतृत्व तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुले हालसम्म गरेको काम र योजनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा सात स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले आ–आफ्नो पालिकामा गरेका काम र योजनाको बारेमा जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा बोल्दै सभापति गौडेलले निम्न वर्गका नागरिकको पहँुच पुग्ने गरि जुन पालिकाले काम गरिरहेको छ त्यो पालिका पुरस्कृत हुने बताउनुभयो । सभापति गौडेलले बाँकेका सम्पुर्ण स्थानिय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार काम भईरहेको बताउनु भयो । उहाँले पार्टीले आफ्नो जिल्लाको प्रत्येक स्थानिय तहका नेतृत्वकर्तालाई एकैठाउँ राखि गरिएको यस किसिमको सम्मेलन सायदै पहिलो पटक भएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा फ्लोरबाट उठेका प्रश्नहरुलाई स्थानिय जनप्रतिनिधीहरुले पालैपालो जवाफ दिएका थिए । यसैगरि पालिकाभित्र गरिएका कामहरुमा भौतिक पूर्वाधार विकास, नीती तथा कानुन, सामाजिक विकास, सुशासन, आर्थिक विकास संगै स्वास्थ्य, शिक्षा, कृषि, विपद, जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायतकोे क्षेत्रमा जनतामूखी काम गरिरहेको पनि जानकारी दिएका छन् ।
पार्टीका जिल्ला सभापति गौडेलको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, उपप्रमुख सगिंता सुवेदी, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्