लायन्स क्लबले सप्ताहब्यापी कार्यक्रम गर्दै



लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनले शुक्रबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर सप्ताह सप्ताहब्यापी सामाजिक कार्य गर्ने जनाएको छ । लायन्सका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सवका अवसरमा सप्ताहब्यापी सामाजिक सेवाका कार्यक्रमहरु संचालन गरिने १३५औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रमकी संयोजक सरिता शाक्यले बताएकी हुन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम हुन लागेको संयोजक शाक्यले कार्यक्रममा बताएकी थिइन् । पुष २२ गतेदेखि २८ गतेसम्म गरिब र विपन्नहरुलाई मध्यनजर गरेर महिला क्यान्सरसम्बन्धि परीक्षण, न्यानो कपडा वितरण, विभिन्न स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, सर्जिकल र औषधि वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिपलगायतका कार्यक्रमको आयोजना गरिने उनले बताइन् ।

लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था हो । सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध छन् । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ । नेपालमा करिव ५० हजास सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आवद्ध छन् ।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, डिस्ट्रिक सेक्रेटरी उमा थापामगरलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार