ट्राफिक व्यवस्थापन व्यवस्थित गर्दै नेपालगन्ज ट्राफिक



बाँके । बाँकेको नेपालगन्जमा ट्राफिक व्यवस्थापन व्यवस्थित हुँदै गएको छ । जिल्ला ट्राफिक कार्यालयको निरन्तर प्रयासपछि ट्राफिक व्यवस्थापन व्यवस्थित देखिएको हो ।

नेपालगन्जको बजारक्षेत्रमध्ये सबैभन्दा ब्यस्त तथा भिडभाड सडक भनेर त्रिवेणी मोड देखी त्रिभुवन चोकसम्मको दुरीलाई चिनिन्छ । नेपालगन्ज ट्राफिक कार्यालय प्रमुख वरिष्ठ सई प्रविण आचार्यका अनुसार वडा कार्यालय, वडा प्रहरी कार्यालय र नगर प्रहरीको संयुक्त सहकार्यमा बाटोको बिचभागको ७ फुटमा दुई पाङग्रे सवारीसाधन पार्किङ्गको लागी छुट्याइको बताउनुभयो । उहाँले एक हप्ताभित्र त्रिवेणी मोडदेखी लक्ष्मिनारायण मन्दिरसम्म पार्किङ्ग व्यवस्थापन र ५ वटा जेब्रा क्रसिङ्ग बनाइने जानकारी दिनुभयो ।

त्रिवेणी मोडमा व्यवसाय गर्दै आएका माया क्लथ हाउसका सञ्चालक अभय कुमार गुप्ताले ट्राफिक प्रहरीको ट्राफिक व्यवस्थापनलाई प्रशंसा गर्नुभएको छ । गुप्ताले बर्षौदेखीको अनुभवमा जहिले भिडभाड हुने यो सडक अहिले खुल्ला हँुदै गएको बताउनुभयो ।

त्यस्तै अर्का व्यवसायी सिहं ज्वैलर्सका प्रोप्राईटर हरपाल सिंहले यहाँको आवश्यकता अनुसार गरिएको यस्तो पार्किङ्ग व्यवस्थापनले भिडभाड कम हुनुका साथै बजारको सौन्दर्य पनि बढेको महसुस भएको बताउनुभयो । अव्यवस्थित पार्किङ्गले गर्दा पसल अगाडी भिडभाड हुने हुन्थ्यो तर अहिले बाटो खुल्ला हुनुका साथै जाम पनि नभएकाले ग्राहकहरुलाई पार्किङ्ग गर्न सजिलो भएको बताउनुभयो ।

ट्राफिक कार्यालय नेपालगन्जले सडकलाई व्यवस्थित र सौन्दर्यीकरण गर्ने काम निरन्तर गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार