जोखिमपूर्ण बन्दै नेपालगन्जको भाइरल सडकखण्ड



बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका स्थित होटल डाईमन्ड अगाडिको सडकमा सेल्फी तथा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ ।

पछिल्लो समय यता सडकको बीचमा लगाइएको फूल सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ रातीको समयमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेको भीड भएपछि जोखिम बढेको हो ।

चैत्र १ गते होलीको साँझ सोही सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना भएको थियो । तर सोही सडक खण्डमा रातीको समयमा फोटो खिच्ने देखि टिकटक बनाउनेको जमातले गर्दा भविष्यमा दुर्घटना निम्त्याउन सक्ने फोटो खिच्न आउने एक वृद्ध महिलाले बताउनु भयो । उहाँसँग नेत्रपाटि डट कमले आमा यसरी सडकमा फोटो खिच्दा दुर्घटनाको डर लाग्दैन ? भनेर सोध्दा, उहाँले बच्चाबच्चीले जबर्जस्ती गरेपछि आएको हुँ तर अब भने आउने छैन भन्नुभयो । ” यस्तै हो भने एकदिन ठूलो एक्सिडेन्ट हुने सम्भावना छ।” उहाँले भन्नु भयो ।

सडकको बीचमा लगाएको फूलले नेपालगन्ज सडकमा देखाएको सौन्दर्यको पोजेटिभ भाईव भएपनि एकातिर यसले दुर्घटनाको जोखिम भने पक्कै बढाएको छ । केहि दिन उता सामाजिक सञ्जालमा सडकमा लगाएको फूलको धेरै प्रशंसा भएपनि अहिले दुर्घटना निम्त्याउने क्षेत्र बनेको भन्दै चौतर्फी स्टाटस लेख्न थालिएको छ ।

पश्चिम क्षेत्रको ठूलो नाका मानिने नेपालगन्ज भन्सारनाकाबाट रातीको समयमा मालबाहक इन्डियन नम्बर प्लेटको ट्रक हाइ स्पीडमा गुड्ने गर्दछन्। तर सो ठाउँमा आउने आगन्तुक मेन लेनमै मस्त फोटो खिच्ने देखि लिएर टिकटकका लागि भिडियो बनाउन व्यस्त हुन्छन् ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले रातीको ८ बजेदेखि देखिएको भिडभाडको समयमा ट्राफिक प्रहरी खटाउने बताउनु भयो । उहाँले छिट्टै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सँग समन्वय गरी जोखिम न्यूनीकरणका लागि केही उपाय लगाउने बताउनुभयो ।

सामाजिक सञ्जालमा भाइरल भएपछि दैनिकी ४ देखि ५ सय मानिस सेल्फी तथा टिकटकका लागि भिडियो बनाउने पुगेको पाइन्छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार