बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड अहिले बिवादास्पद अवस्थामा छ ।
वर्तमान कार्यवाहक अध्यक्ष दिल बहादुर केसीलाई करिब २३ लाख रकम हिनामिना गरेको आरोप लागेपछी उक्त सहकारीमा विवाद उत्पन्न भएको हो । जबकी दिल बहादुर केसीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेको मात्रै ५ महिना भएको छ ।
गत २०८१ मंसिरमा सम्पन्न साधारण सभाबाट अर्को साधारण सभा नहुँदासम्म बर्तमान अध्यक्ष सावित्री भुसालको राजीनामा पश्चात् कार्यबाहक अध्यक्षको रूपमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका केसी जिम्मेवारी सम्हल्दै आउनुभएको छ । जुन जिम्मेवारि लिनु भन्दा पहिला नै संस्था आफैमा बिबादास्पद रहेको थियो ।
बढैयाताल एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकआपसमा मर्ज हुनु भन्दा पहिला अकला बचत तथा ऋण सहकारी संस्था जसका अध्यक्ष नेत्र प्रसाद सापकोटा र जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिल बहादुर केसी थिए । जुन तत्कालिन बढैयाताल गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको सल्लाहमा दुई सहकारी संस्था मर्ज हुनपुग्यो ।
आ.व. २०७५÷०७६ मा अकला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनमुखी ऋण सहकारी संस्था मर्जर भई बढैयाताल एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा छ । सो समयमा दुवै संस्थाको अर्धवार्षिक तथा बार्षिक रिर्पोट सापकोटाले बनाई मर्ज भएको केसीको भनाई छ । उहाँका अनुसार त्यसपश्चात अध्यक्ष नेत्र प्रसाद सापकोटा हुनुभयो ।
शिव एण्ड एसोसिएट्सबाट दिइएको आर्थिक वर्ष २०७६÷०७७ प्रतिवेदन अनुसार आ.व. २०७५÷०७६ सालको लेखापरिक्षण प्रतिबेदन र संस्थाका खाता बिच २३ लाख ८७ हजार आठ सय ४७ रकम फरक देखिएको छ । जुन अवधिमा सापकोटाले संस्थाको अध्यक्ष पद सम्हाल्दै आउनु भएको थियो । जसकारण जवाफदेहिता तत्कालिन अध्यक्ष सापकोटा देखिन्छन् ।
अडिट प्रतिवेदन अनुसार रकम फरकको छानबिन गर्ने भएपछि केही बौद्धिक सर्कलका अगुवाहरु राखी ५ जनाको छानबिन समिति गठन गरिएको तर उनिहरुको निष्कर्ष शुन्य आएको केसीले नेत्रपाटीलाई जानकारी गराउनुभएको छ ।
बढैयाताल एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्था मर्ज भएको करिव ७ बर्ष भएको छ । संस्थाको आ.व.२०७७÷०७८ अडिट गरेका त्रिपाठी एण्ड एसोसियानका रजिष्टरर्ड लेखापरिक्षक गोविन्द प्रसाद त्रिपाठीका अनुसार आफुले उक्त संस्थाको अडिट गर्नुभन्दा अघिल्लो आ.व.मा नै उक्त रकम फरक देखिएको थियो । उहाँले जुन अवधिमा सापकोटा नै अध्यक्ष रहेको बताउनुभएको छ । उहाँले अघिल्लो बर्षको अडिटरका कर्मचारीले उक्त हिसाब मिलाईदिन अनुरोध गरेतापनि बिना आधार मिलान गर्न नसकिने बताउनु भयो । अडिटका कर्मचारी भुलचुकमा उक्त रकम फरक भएको कारण बताउँदै हिसाब मिलाउन अनुरोध गरेका त्रिपाठीले नेत्रपाटीसगं बताउनुभएको छ ।
पालिकाले उक्त संस्थाको भवन निर्माणको लागि बजेट बिनियोजन गरेको थियो । प्राप्त अनुदान रकम ब्यालेन्सिटको दायित्वमा देखाइएको तर भवन निर्माणमा गरिएको नगद खर्च या फिक्स एसेट्स नदेखाएको कारण उक्त रकम फरक आएको उहाँको बुझाई छ । रजिष्टर्ड अडिटर त्रिपाठी यो समस्या साधारण सभाबाट मात्रै समाधान गर्न सकिने बताउनुहुन्छ ।
संस्था मर्ज भएदेखी दुई तीन जना अध्यक्ष परिवर्तन भइसक्दा अहिले आफुमाथि व्यक्तिगत रिसिबिका कारण आरोप लगाइएको कार्यबाहक अध्यक्ष केसीको भनाई छ । उहाँ भन्नुहुन्छ, “गाउँपालिकाको अगुवाईमा बिज्ञ टोलिद्वारा अनुसन्धान गरि छानबिन गर्ने योजनामा छु ।”
तस्बिरः सामाजिक सञ्जाल

नेत्र पाटी । ७ बैशाख २०८२, आईतवार १७:५८