
प्रियसी शर्मिला (नाम परिवर्तन)
खै के लेखेर सुरुवात गरु मेरो शब्दका पाना ? खै के लेखेर पूरा गरौं मेरो मनका भावना ? खै कुन भेटलाई एउटा चिनारी दिएर लेखु आज यो प्रेमपत्र ? सायद तिमी भन्दा पहिला धेरै केटी देखेको हुला तर तिमी जस्ती स्वभावले भरिएकी सुन्दरी केटी आज सम्म देखिन सानु । तिमीले मेरो मन जित्ने कुनै क्रियाकलाप गरेनौ होला त्यो समयमा याद भए सम्म हाम्रो पल पलमा झगडा हुने गर्थ्यो, त्यो तिमीलाई पनि राम्रो अवगत होला ? थाहा थिएन आज मेरो जीवनमा तिमी मुटु सरी आश्रय लिन्छौं भन्ने । सामान्य साथीबाट सुरु भएको हाम्रो सम्बन्ध आज जीवनको हरेक क्षण शेयर गर्ने हितैषी साथी भयौ तिमी ।
मेरो भोगाइ अनि तिमी मेरो जिवनमा पछि आउनु सायद यो सब भगवानको लिला होला तर सानु आज तिमीलाई पाउँदा मेरो मन खुसीले गदगद भएको छ। कुनै समय भन्ने गर्थे तिमीमा सारै घमण्ड रछ (घमण्डी केटी मलाई मन पर्थ्यो पनी) अर्को तिर मेरो घमण्डलाई उचाई देखाउन तिमीसँग कति समय नबोलेको हामी सँग प्रमाण नै रह्यो ? यति लेख्दै गर्दा हामी एउटै विधाका संस्थामा आबद्ध हुँदा पनि न तिमीले बोल्न सक्यौ न म । सायद फराकिलो बाटोलाई हामी आफैले साँघुरो बनाएको थियौं । यति भन्दै गर्दा तिमीसँग बोल्न चाहँदा नचाहँदा बोल्न नसकेको हुन सक्छु म ? चाहँदा नचाहँदै तिमीसँग बोल्न नसक्नुको मजबुरीको बयान कसरी गरु म आज आएर ?
यथास्थिती समय बित्दै गयो , हामीसँग त्यस्तो कुनै अनौठो कदम पनि भएको होइन जुन कारणले हामी आज एक हुन सफल भएका छौं । थाहा छैन मेरो मुखबाट कसरी निस्किन पुग्यो त्यो शब्द “सानु” । बिस्तारै बुझ्दै गए त्यो शब्दमा अजम्बरी माया गाँसिने मेरो भाग्य रहेछ । बिस्तारै जिन्दगीको पाइला बढ्दै गयो र तिमीसँग नजिक हुन खोजे जुन आज मेरो जिन्दगीको पहिलो सही निर्णय भएको छ ।
सानु तिम्रो नामको प्रेम पत्र लेख्दा आज अत्यन्तै हर्षित छु । हुनत तिमीलाई आज पाएको छु तर पनि लेख्न मन लाग्यो । जसरी मदनले मुनालाई चाहेको थियो त्यसरी नै मैले तिमीलाई चाहेको छु । आज हरेक अमूर्त वस्तुमा तिमीलाई पाउँछु सानु,आज औंसीको रातमा पनि तिमीलाई भिडियो कलमा देख्न पाउँदा पूर्णिमाको रात सरी लाग्छ, शिशिरको हावामा तिमीलाई पाउँछु, पुष माघको चिसो मौसममा तिमीलाई सम्झिदा पनि न्यानो आभाष गरेको छु ।
सानु मेरो जीवन रहुन्जेल तिमी सँगै रहन पाउँ । भन्दा बनावटी हुन सक्छ मेरो अन्तिम सास रहुन्जेल तिमीलाई माया दिन पाउँ । पुनर्जन्मको विश्वास गर्दिन सानु यो जन्म तिमीसँग बिताउन पाउँ ।
तिमीलाई माया गर्ने
प्रतिक्रिया दिनुहोस्