बाँके ।नेपालगन्जको मुख्य चोक धम्झोजीमा बनाइएको जेब्रा क्रसरिङमा गाडीका सहचालक यात्रु बार्गेनिङ गर्दै आएका छन् ।
धम्बोझी चोक नेपालगन्ज कै व्यस्त चोक हो । बाटोमा बनाइएको जेब्रा क्रसिङ पैदल यात्रुका लागि बाटो काट्न बनाईएको हो तर सोही ठाउँमा यात्रुलाई सहचालकहरु तानातान गर्दै आएका छन् ।
चोकमा ट्राफिक प्रहरी बसेपनि आफू मुकदर्शक भएर बस्नु परेको एक ट्राफिक प्रहरी दुःख प्रकट गर्नुहुन्छ । ट्राफिक प्रहरी भन्नुहुन्छ, हामीले सवारी साधनलाई हेर्छौं चालकलाई नियन्त्रण गर्न सक्दैनौं, यो काम जिल्ला प्रहरीले गर्ने हो ।
चोकको चार कुनामा सहचालकको जम्बो टोली यात्रु कुरेर बस्छन् । कोही बीच सडकमा रिक्सा समात्न बसिरहेका हुन्छन् त कोही जेब्रा क्रसिङमा मान्छे तान्न पुग्छन। कतैबाट चोक सम्म पुगेका रिक्सामा सहचालक उक्लिदै आफूले लग्ने गन्तव्य भन्दै चिच्याउँछन् ।
चोकमा यस्तो हर्कत भइरहँदा दुर्घटना को उच्च जोखिम नहोला भन्न नसकिने अवस्था छ । त्यस्तै पैदल यात्रु जेब्रा क्रसिङ बाट बाटो काट्दा सास्ती समेत भोग्नु परेको छ। “जेब्रा क्रसिङ म जस्तै पैदल यात्रुका लागि बनाइएको हो, तर यही हिँड्दा पनि गाडीका स्टाफले तानातान गर्नाले हामीले हिँड्नै गाह्रो हुन्छ ।” धम्बोझि चोकको जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी धनमाया सुवेदीले बताउनुभयो ।
चोकमा नियम विपरीत गरिने यस्ता क्रियाकलापलाई नत ट्राफिक प्रहरीले नत जिल्ला प्रहरीले नियन्त्रण गर्न सकेको छ ।

नेत्र पाटी । ३ जेष्ठ २०८२, शनिबार ०९:५४