शक्ति जनता समक्ष, निर्णय जनताबाट र सरकार जनताको सेवक हो’गणतन्त्र’

जेठ १५ जुन दिन देशको इतिहासमा एउटा महत्वपूर्ण अध्याय लेखिएको दिन हो । जुन हामी सम्झिरहेका छौं । यस दिन केवल शासन प्रणालीको परिवर्तन मात्र होइन, जनताको सार्वभौम अधिकारको विजय र लोकतान्त्रिक मूल्यको पुन: पुष्टि भएको छ ।

‘गणतन्त्र भन्नुको अर्थ: शक्ति जनता समक्ष, निर्णय जनताबाट र सरकार जनताको सेवक हो ।’ जुन विश्वास बोकेर हजारौं नेपाली जनताले २०६२/६३ को जनआन्दोलनमा बलिदान गरेका थिए । फलस्वरूप २०६५ सालमा राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।

आजको दिन सम्म आइपुग्दा हामी सबैले सोच्नु पर्ने भएको छ, के गणतन्त्रले अपेक्षित परिणाम ल्याएको छ? के हामी जनताको अधिकारको रक्षा गर्न सकिरहेका छौं? के हाम्रो शासन प्रणाली जनमुखी, जवाफदेही र पारदर्शी छ?

मेरो विचारमा हालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, संविधानको पूर्ण कार्यान्वयन गर्न तथा शासन प्रणालीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउनुपर्ने अपरिहार्य देखिएको छ ।

देशको गणतन्त्रलाई सफल र सशक्त बनाउन हामी सबैको भूमिका उल्लेखनीय रहन्छ । राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार व्यवहार गर्नुपर्छ । नागरिक समाजले सचेत, जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्छ । युवाहरूले परिवर्तनको वाहक बनेर नेतृत्वमा सहभागिता जनाउनुपर्छ र सरकारले विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा प्राथमिकता दिनुपर्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, संविधानको पूर्ण कार्यान्वयन गर्न तथा शासन प्रणालीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन हामी सबैले आ-आफ्नो स्थानबाट पहल गर्नुपर्ने बेला छ ।

जनताको अभुतपुर्व सहभागिता तथा बलिदान बाट रोपिएको गणतन्त्रको बिउलाइ संस्थागत गर्न हामी सबै मिलि साझा संकल्प गर्न अत्यावश्यक भैसकेको छ। समावेशी, समान र न्यायपूर्ण समाज निर्माणका लागि एकता र समृद्धिको बाटोमा अघि बढ्न दृढ संकल्प गर्नु पर्ने समय आएको छ। गणतन्त्र केवल शासन प्रणाली होइन, यो जनताको गौरव हो। यसको संरक्षण र सुदृढीकरण हाम्रो साझा जिम्मेवारी हो। गणतन्त्र दिवसको शुभकामना !

तपाईको प्रतिक्रिया