बाँकेमा अटोरिक्सा दुर्घटना बढ्दो, उदासिन स्थानीय तह 

बाँके। गाउँ देखि शहरसम्म सहजै जोड्ने सजिलो माध्यम हो तीनपांग्रे अटोरिक्सा । छोटो दुरीको आवतजावतको  लागि तीन पाङ्ग्रे अटोरिक्सा सहज माध्यम बनेको छ । शहरभित्र प्रवेश गर्ने नागरिकलाई अटोरिक्साले झन्झटिलो मुक्त त बनाएको छ नै तर यस्ता अटोरिक्साले नागरिकमाथि चुनौती पनि निम्त्याएको छ ।

अटोरिक्सा चालकले संयमतापूर्वक नचलाउँदा यात्रा जोखिमपूर्ण बनिरहेको छ । तिनपाङ्ग्रे अटोरिक्सा चालकको लापरबाहीले अन्य सवारी चालकसँगै यात्रुहरूपनि जोखिममा परिरहेका छन् ।

बाँकेमा अटोरिक्सा चालकको लापरवाहीका कारण प्रायः दिनहुँ दुर्घटना हुँदै आएको छ । बाँकेमा चालू आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म ५६ अटोरिक्सा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले बताउँछ । यस्ता दुर्घटनाबाट विगत १० महिनामा ४ जना पुरुष र १ बालिका गरी ५ जनाको मृत्यु भएको छ । भने, महिला,पुरुष,बालक र बालिकागरी जम्मा ८ जना गम्भीर घाइते भएका छन् । त्यस्तै ८३ जना साधारण घाइते भएका छन् ।

तीव्र गति,अनावश्यक तरिकाले मोड दिने,लेनभन्दा बाहिर चलाउने,अनावश्यक स्थानमा ओभरटेक गर्ने,एक हातले चलाउने,चाँडै पुग्ने प्रतिस्पर्धा, मादक पदार्थ सेवन गरेर चलाउने,उल्टो साइडबाट यात्रु चढाउने ओराल्ने लगायत कारणले गर्दा दुर्घटना हुने जिल्ला ट्राफिक कार्यालय बाँकेको प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले बताउनु भयो ।

जिल्ला ट्राफिक कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो समय अटोरिक्साबाट हुने दुर्घटना बढ्दै गएको छ । तुलनात्मक दुर्घटनामध्य अटोरिक्सा र मोटरसाइकल ठोक्किएर बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

साथै,जिल्ला ट्राफिक कार्यालयले दिनहुँजसो सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्षको साउन देखि बैशाख सम्म २ हजार २ पटक जनचेतना कार्यक्रम गरेको छ । जसबाट १ लाख ५८ हजार २ सय ७२ जनाले लाभ लिएका छन् । साथै, उक्त समयमा ३१ हजार ६५ सवारी कारबाहीमा परेका छन् । जसबाट २ करोड ५२ लाख ४० हजार ५ सय राजश्व संकलन भएको छ ।

नेपालगन्ज उपमहानगरालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार जिल्ला तथा पालिकाभन्दा बाहिरका अटोरिक्सा दर्ता गरी नगरभित्र सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । भने, नयाँ तिनपाङ्ग्रे सवारीहरु सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आएको खण्डमा भने चलाउन दिने निर्णय गरिएको छ ।

यस्तै, सडक सुरक्षालाई ध्यानमा राखेर उमेर मापदण्ड,नम्बरिङ,सडक जाम नहुने गरी अटोरिक्सा ब्यवस्थापन गर्ने निर्णय गरिएको पनि प्रवक्ता रिजालले बताउनु भयो । उहाँले नगरपालिकाले आउने आर्थिक वर्षदेखि रुट व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

यसोत, नेपालगन्ज उपमहानगरपालिका तिनपाँग्रे सवारी व्यवस्थापनमा चरम लापरवाही गर्दै आएको अगुवाहरू बताउँछन् । उनीहरू भन्छन् – “नेपालगन्ज उपमहानगरपािकाले अटो रिक्सा व्यवस्थापनमा ठोस निर्णय लिन नसक्दा सडकमा यति धेरै दुर्घटना भएको छ । “रिक्सा चालक कोही बच्चा हुन्छन्,कोही मापसे गरेर चलाउँछन्,कोही एक हातले चलाउँछने जस्ता लापरबाहीले दुर्घटना नल्याई के ल्याउँछ ?” अगुवाहरूले थपे।

तपाईको प्रतिक्रिया