कौडा गीत ‘मायामा भुल’ बोलको म्यूजिक भिडियो सार्वजनिक

बाँके। गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शनिबार नेपालगन्जमा एक कार्यक्रम गरी स्थानीय कलाकर्मी बिच उक्त भिडियो सार्वजनिक गरिएको हो ।

१२ मिनेटको उक्त म्युजिक भिडियोको सबै छायांकन बाँकेको खजुरा १ सैनिकमा गरिएको छ । नेपाली मौलिक पहिचान बोकेको कौडा गीतको भिडियो मौलिकता र आधुनिकताको फ्युजन रहेको गायक जिएमले बताउनुभयो । ‘टिपिकल कौडामा धेरै बाजाको प्रयोग गरिएको हुन्छ। तर, यसमा कम बाजाको प्रयोग भएको छ।’ गायक जिएमले भन्नुभयो ।

बरिष्ठ कलाकार सुन्दर गुरुङले नेपाली मौलिक कौडामा थोरै फ्युजन गरिएको भएपनि भिडियो हेर्दा पट्यारलाग्दो नभएको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले म्युजिक भिडियोमा नृत्य, ताल, सिनेमाटोग्राफीमा अब्बल पर्फर्मेन्स रहेको बताउनु भयो । पौडेलले पश्चिम क्षेत्रबाट उत्पादन गरिएको यसप्रकारको गुणस्तरिय म्युजिक भिडियोमा गौरवान्वित रहेको बताउनु भयो ।

बाँकेमा रहेर नृत्य निदेशक गरिरहेका नवराज सुवेदीले यस ‘मायामा भुल’ कौडा गीतमा आफ्नै अभिनय प्रस्तुत गर्नुभएको छ । करिब ९० भन्दा बढी म्युजिक भिडियोमा नृत्य निर्देशक गर्नुभएका सुवेदीले निर्देशनसँगै पहिलो पटक अभिनय गर्नुभएको छ ।

गीतमा निर्देशक सुवेदी सहित गायक जीएम, नृत्याङ्गना दुर्गा राना र एलिसा बोहराको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियो गायक शिव जीएमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा दुई दर्जन बढि कलाकार, संगीतकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

कौडा गीत ‘मायामा भुल’ बोलको म्युजिक भिडियो  निम्न लिंकमा हेर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया