बाँके । ५२ वर्षिय बड्कौ बारिको दैनिकी ठेला ठेल्दैमा बित्ने गरेको छ । नेपालगन्ज उपमहानगरपालिका २ का ५२ वर्षीय बड्कौ बारी दैनिक जसो नेपालगन्जको बजार बजार पोलेको मकैको ठेला ठेल्दै गरेको देखिनुहुन्छ । नेपालगन्जको चर्को गर्मीमा हातले कोइला हम्किदै हरियो मकै पोल्दै बजार बजार डुल्दै मकै बेच्नु उहाँको रहर नभई बाध्यता भएको उहाँको भनाई छ ।
पोलेको मकै उहाँको जीवन गुजारा गर्ने माध्यम बनेको छ । उहाँसंग विगत ३६ वर्षदेखि मकै बेच्दै आएको अनुभव छ, यहि नेपालगन्जमा । उहाँ भन्नुहुन्छ, मकै पोल्दा पोल्दै आफै कोइला जस्तो कालो भैसके तर मकै पोल्न छोडेको छैन । असारको चर्को गर्मीमा उहाँ मकै पोलेर बेच्न व्यस्त देखिनुहुन्छ । उहाँको मकै नेपालगन्जका व्यापारीसंगै बाटो हिड्ने जो कोहिले रुचाउँछन् ।
‘प्रतिगोटा ३० का दरले बेच्दा १० रुपैयाँ फाइदा हुन्छ । उहाँको आफ्नो मकैबारी भने छैन । उहाँले मकै पोलेर बेच्नलाई पनि अरुबाट खरिद गर्नुपर्छ । आफ्नो खर्च कटाएर दिनमा पाँच – छ सयसम्म आम्दानी बचाउनुहुन्छ। उहाँ भन्नुहुन्छ,- ‘ यही आम्दानीबाट बचेको पैसाले घरखर्च चलाउँछु । बड्कौको घरमा ८ जनाको परिवार छ । परिवारलाई चाहिने खानेखुराक त्यही पैसाबाट व्यवस्था गर्नुपर्छ । दुई महिना अघि पोलेको मकैको राम्रो व्यापार भएपनि अहिले व्यापार घट्दै गएको उहाँको भनाई छ । उहाँले अहिले दिनमा ५०-६० पोलेको मकै बिक्री गर्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ ‘पहिले पहिले छोराहरू सानो हुँदा यहीँबाट सबैको खर्च चलाउने गरेको थिए। तर अहिले छोराहरू पनि कमाउन थालेका छन् ।’ छोराहरु पनि काम गर्ने भएपछी आफुलाई केही सहज भएको उहाँको भनाइ छ।
‘आधा उमेर यही व्यवसायमा विताइसके । यसैबाट गरेको आम्दानीबाट दुई छोरा दुई छोरी हुर्किए । अब शरीरले सकुन्जेल यही व्यवसायलाई निरन्तरता दिने बिचार छ ।’ उहाँले भन्नु भयो ।’,’परिवारको पेट पाल्न भएपनि दुःख सुख गर्दै यो व्यवसाय सुरु गरे । अहिले यही व्यवसाय गर्दा राम्रो लाग्छ ।’ उहाँ भन्नुहुन्छ ।
बड्कौ यो व्यवसाय दिउँसो २ बजेदेखि राती ९ बजे सम्म संचालन गर्दै आउनुभएको छ । त्यसअघि उहाँ ठेकदार सँग काँचो मकै खरीद गर्न र कोइला व्यवस्थापन गर्न समय बिताउनु हुन्छ ।
बड्कौजस्तै बर्दिया बाँसगढी नगरपालिका २ की प्रेमा चौधरीको पनि पोलेको मकै बेच्दै दिनचर्या बित्ने गरेको छ । उहाँ लगायत परिवार नेपालगन्जमा विगत ५ वर्षदेखि भाडामा बस्दै आउनुभएको छ । नेपालगन्ज आएपछि उहाँले पोलेको मकै बेची आफ्नो घरको खर्च टार्दै आएको बताउनुहुन्छ ।

प्रेमाले दैनिक ६०-७० गोटा पोलेको मकै बेच्ने गरेको बताउँदै उहाँले २ हजार देखि २ हजार एकसय सम्मको कारोबार गरिने बताउनु भएको छ । प्रेमा भन्नुहुन्छ,- ‘ बिहान ४ बजे नजिकैको राप्ती पारी पुगेर मकै लिएर ९ बजेसम्म घर पुग्छु । बालबच्चालाई स्कुलको तयारी गराउँछु । श्रीमान लेबरि काममा जानुहुन्छ । घर सरसफाई गर्दा २ बज्छ र ठेला बोकी बजार निस्कन्छु।’ उहाँले पनि रातिको ८ बजे सम्म पोलेको मकै बेच्नेगर्नु भएको छ ।
प्रेमाले श्रीमान र म मिलेर आम्दानी नगरेसम्म घरखर्च चलाउन हम्मेहम्मे हुने बताउनुभयो। उहाँ भन्नुहुन्छ”पहिले श्रीमान जस्तै मजदूरी काम गर्थे । तर आम्दानी उही भएकाले सिजनमा पोलेको मकै बेच्ने गरेकोले घर खर्चमा सहज भएको छ ।”
नेपालगन्जको यस्तो प्रचण्ड गर्मीमा दैनिक रुपमा कोइला फुक्दा झन गर्मी हुने गर्छ तर प्रेमालाई काम गरेर खाने मान्छेलाई न गर्मी न चिसो संधै एउटै लाग्ने गर्छ ।

नेत्र पाटी । २३ असार २०८२, सोमबार ०५:००