बाँके ट्राफिकले आब २०८०/०८१ भन्दा ५८ लाख बढी राजश्व संकलन

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले गत आर्थिक वर्ष ३ करोड बढी राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी बाँकेले ३ करोड २ लाख सरसठ्ठी हजार ५ सय राजश्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट उक्त राजश्व संकलन गरिएको हो । उक्त राजश्व ३७ हजार ४ सय पैंतीस सवारी कारबाहीमा परी संकलन गरिएको हो । जुन राजश्व अघिल्लो आर्थिक वर्षको भन्दा बढी छ ।

आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले २ करोड चौवालिस लाख २७ हजार राजश्व संकलन गरेको थियो । जसमा ३१ हजार एकसय उनन्साठी सवारी कारबाहीमा परेका थिए ।

कार्यालयको राजस्व संकलनको तथ्याङ्क अनुसार आब २०८०/०८१ भन्दा २०८१/०८२ मा ५८ लाख ४० हजार पाँच सय बढी राजश्व संकलन गरिएको छ । जसअन्तर्गत ६ हजार २ सय ७६ सवारी बढी ट्राफिक उल्लंघन सम्बन्धी विभिन्न शिर्षकमा कारबाहीमा परेका छन् ।

ट्राफिक कार्यालय बाँकेले आफ्नो जिल्लामा तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा बढी सक्रिय रूपमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ। जसबाट अत्यधिक नागरिकले लाभ लिएका पनि पाइन्छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय छब्बीस पटकको सचेतना कार्यक्रममा १ लाख २० हजार ३ सय पैसठ्ठी जनाले लाभ लिएका थिए । भने गत आर्थिक वर्षमा पच्चीस हजार ५ सय पच्चीस पटकको कार्यक्रममा २ लाख बत्तीस हजार एक सय सतासी जनाले लाभ लिएका छन् ।

ट्राफिक कार्यालयबाट प्राप्त तथ्यांक अनुसार,जिल्लामा दुई आर्थिक वर्षमा दुर्घटनाको संख्या पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा जम्मा दुर्घटना २२४ थियो । भने, गत आर्थिक वर्ष ८५२ पुगेको छ । तुलनात्मक रुपले ६२८ सवारी दुर्घटना बढेको पाइएको छ । विभिन्न सवारी दुर्घटना मध्य सबै भन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटना भएको छ । क्रमश: दुर्घटनामा परी मृत्यु हुनेमा ६६ र ७० जना पाइएको छ । त्यस्तै, जिल्लाभर चौपायाको कारणले घट्ने दुर्घटनाको रेसियो भने घटेको पाइएको छ ।

बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार ट्राफिक प्रहरीको निरन्तर चेकजाँचमा जिल्लामा सवारीचालकको दोहोरिने लापरबाही,सवारी संख्यामा आएको वृद्धिले कारबाही संख्या बढ्दा राजश्व बढ्न गएको बताउनु भएको छ । उहाँले दुर्घटनाको हकमा पहिले सिरियस घटना मात्र रेकर्डमा राखिन्थ्यो तर अहिले माथि हेडक्वाटरबाट आएको नयाँ नीतिमा स-साना घटनालाई पनि रेकर्ड राखिने भएकाले दुर्घटना संख्या बढी देखिन गएको प्रस्ट्याउनु भएको छ । हाल बाँके ट्राफिक कार्यालयमा साना साना घटनालाई पनि रेकर्डमा राखिँदै आएको छ ।

इन्स्पेक्टर पन्तले ” ट्राफिक प्रहरीको उद्देश्य कारबाही गर्ने भन्ने नै होइन, तर ट्राफिक नियमको उल्लंघन गर्ने सवारीचालक बढी भयो भने त्यसलाई नियन्त्रण गर्न कारबाही भने गर्नुपर्छ ।” भन्नुभयो ।

तपाईको प्रतिक्रिया