जलमै फल्ने सिंगडाःबाँकेमा सिंगडा खेती

बाँके । पानीभित्र मात्रै यस्को खेती गरिने हुँदा यसलाई जल भित्रको फल भनियो । तराईमा गरिने यो खेती बाँकेमा पनि केही किसानहरुले सिंगडा खेती गरिरहेका छन् । अन्य खेती भन्दा सिंगडा खेती कमै मात्रामा पाईन्छ । ताल एवमँ पोखरीमा गरिने यस प्रकारको खेतीले किसानलाई परम्परागत अन्नबाली खेतीकोभन्दा तुलानात्मकरुपमा बढी आम्दानी दिन्छ ।

बाँकेको डुडुवा गाउँपालिका ३ बनकट्टिका कैलाश काँदुले १३ कठठा जमिन ठेक्कामा लिएर यो खेती गर्दै आउनुभएको छ । जेठ–असार महिनामा रोपेर करिव असोज–कात्तिकमा तयार हुने सिंगडाको अहिले किरा मार्नका लागि विषादी हाल्ने र गोडमेलको काम भईरहेको छ । सिंगडा पनि व्यवसायिक खेती नै भनेकाले अन्य खेती जस्तै खनजोत गरेर आलु जस्तै रोप्नुपर्छ । सिंगडा खानका लागि मात्रै प्रयोग गरिन्छ । यसलाई कांचै पनि खान सकिन्छ भने उमालेर र पिठो बनाएर हलुवाका रुपमा पनि खान सकिने काँदुको भनाई छ । सिंगडा खेती वर्षमा एकचोटि गर्ने गरिन्छ । सिंगडा खेतीकोलागि पर्याप्त मात्रामा पानीको आवश्यकता पर्दछ ।

तराई क्षेत्रमा अत्याधिक मात्रामा रुचाइने सिंगडा खेती गर्न निकै मेहनत चाहिन्छ । सुरुमा जमिनमा लगाईने सिंगडा बिस्तारै पानीभित्र डुबाउनुपर्छ । पुरै शरीर पानीभित्र राखेर काम गर्नुपर्ने भएकाले सबैले यो खेती गर्न नरुचाउने काँदुले बताउनुभयो । सिंगडाको फल टिप्दा तलाउमा पानीको मात्रा धेरै हुने हुँदा डुंगाको प्रयोग गरिन्छ । सिंगडा फल्ने सिजनमा ४० देखि ६० रुपैयाँ प्रती केजि बोक्री हुने गर्छ ।

काँदुले सिंगडा खेती गर्न लागेको करिब पाँच वर्ष भयो । उहाँले बिगत ५ वर्षदेखी एउटै जग्गा ठेक्कामा लिएर यो खेती गर्दै आउनुभएको छ । काँदु भन्नुहुन्छ,‘एक सिजनमा सिंगडा खेतिमा करिब एक लाख जति खर्च आउँछ भने खेती राम्रोसगँ उम्रियो भने ढाइ देखि तीन लाख सम्म आम्दानी हुन्छ ।’ काँदुले बार्षिक ५२ हजार जमिनदारलाई ठेक्का रकम बुझाउनुपर्छ ।

सिंगडा बिक्री मात्रै नभई धान संग साट्ने पनि चलन छ । कादँुको भनाई अनुसार १ केजी सिंगडा बराबर २ केजी धान साटिन्छ । गत वर्ष उहाँले सोही जग्गामा ४० क्विन्टल सिंगडा उत्पादन गर्नुभएको थियो भने केही मात्रामा धानसगँ साटेर २५ क्विन्टल धान भित्र्याएको स्मरण गर्नुभयो । सिंगडाको लागि बिक्री केन्द्र नजिकको शहर नेपालगन्ज हो । यहि पनि भारतीय सिमानासंग जोडिएकोले बाँके भन्दा भारतबाट सस्तोमा आयात हुने हुँदा यहाँका किसानलाई मर्का पर्ने गरेको छ । उहाँ भन्नुहुन्छ,‘हामीले जेनतेन गरि पोखरीमा लाखौँ खर्च गरेर सिंगडा खेती गछौँ तर बजारमा भारतीय सिंगडा सस्तो–सस्तोमा बिक्रि हुदाँ हामी पनि सस्तोमा बिक्रि गर्न बाध्य छौँ ।’कादँुले सिजनल सिंगडा खेती सिवाय परम्परागत अन्नबाली खेती जस्तै धान,गहुँ जस्ता खेती गर्दै आउनुभएको छ ।

यस्तै नेपालगन्ज ११ का प्रेम कस्यपले पनि लामो समयदेखी सिंगडा खेती गर्दै आउनुभएको छ । उहाँले पनि पालिकाबाट दस कठ्ठा जग्गा(तलाऊ) ठेक्कामा लिएर यो खेती गर्दै आउनु भएको छ । उहाँले ठेक्का बापत वार्षिक २० हजार पालिकालाई बुझाउँदै आउनुभएको छ । कस्यपले सिंगडा खेती दुई ठाउँमा लगाउदै आउनुभएको छ । गतबर्ष उहाँले करिब ५० क्विन्टल सिंगडा उत्पादन गरेको बताउनुभयो । जसबाट उहाँले दुई देखी दुई लाख पचास हजारसम्म आम्दानी गरेको जानकारी गराउनुभयो । सिंगडा खेतीमा धेरै मेहनत लाग्ने भएकाले किसानहरु यस प्रकारको खेतीमा त्यती चासो दिएका छैनन्,तर यसबाट अन्य बालीभन्दा बढी लाभदायी हुने उहाँको अनुभव छ ।

कस्यप भन्नुहुन्छ,‘परिवारका दाजुभाई आ–आफ्नो अन्य व्यावसायमा लागे तर म बुबादेखी सिक्दैआएको सिंगडा खेती गर्ननै रुचाउछुँ ।’ उहाँले यही खेतीबाट भएको आयआर्जनले आफुलगायत परिवारको खर्च सहजै टर्ने बताउनुभयो ।

सिंगडा गोडमेल र टिप्नका लागि एकजनाको दिनको ८ सयका दरले भारतबाट कामदार ल्याउनु पर्छ । अलि बढी मेहनत र दुख हुने हुँदा यो खेती तर्फ सबैको ध्यान जान सकेको छैन ।

तपाईको प्रतिक्रिया