खजुरामा बोईलर कुखुरा टहरोभित्र जुवा खेल्दै गरेका पाँच जना पक्राउ, ४७ हजार तीस रुपैयाँ बरामद

खजुरा । बाँकेको खजुरा गाउँपालिका ४ डी गाउँमा बोईलर कुखुरा पालनका लागि बनाइएको टहरोमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना जुवाडे पक्राउ परेका छन् । आज बिहान २ बजेतिर जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक शिबा थापाको कमाण्डमा खटिएको टोलीले टहरोभित्र हारजित हुनेगरी तास खेलिरहेको सुराकी पाएपछि रीतपूर्वक छापा मारेको थियो ।

छापामारीका क्रममा प्रहरीले जुवाखालबाट नगद ४७ हजार तीस रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–५ का कृष्ण चौधरी, सोही गाउँपालिका–३ का शैलेन्द्र कुमार मिश्रा,४ का गोपाल बुढा क्षेत्री र आशिष गुरुङ, तथा बढैयाताल गाउँपालिका–३ का राजेश गुरुङ रहेका छन् ।

जुवाअड्डा खजुरा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय धनौलिबाट करिब ३ किलोमिटर पूर्वउत्तर दिशामा रहेको जनाएको छ ।

प्रहरीले थप अनुसन्धानका लागि सबै पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको जनाएको छ । प्रहरीका अनुसार जुवा खेल्ने सबैलाई कानूनी कारबाही अघि बढाइने छ ।

तपाईको प्रतिक्रिया