नेपालगन्ज । नेपालगन्ज घरबारिटोल २ मा तीन युवा दाजुभाइको संयुक्त पहलमा ‘ससुराली रेस्टुरेन्ट’ संचालनमा आएको छ। शुक्रबार आयोजित विशेष समारोहमा निवर्तमान अध्यक्ष सुनिल सिंह हमालले रिबन काटेर रेस्टुरेन्टको औपचारिक उद्घाटन गरेपछि सेवा सुरु गरिएको हो।

विगत १० वर्षदेखि स्थानीय चिया तथा खाजा सेन्टर सञ्चालन गर्दै आएका दुई दाजुभाइको अनुभवमा विदेशबाट फर्किएका माइला दाइ पनि जोडिएपछि आधुनिक शैलीको नयाँ रेस्टुरेन्ट खोलिएको सञ्चालक विष्णु आचार्यले जानकारी दिनुभयो ।
“हामीले एक दशक समय यही कर्म गर्दै आएका छौँ। विदेश बसेका दाइ फर्किएपछि अहिले तीनै जना मिलेर ‘ससुराली रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “विदेशभन्दा पनि स्वदेशमै मेहनत गरे राम्रो आम्दानी हुन सक्छ भन्ने सन्देश दिन चाहेका हौँ।”
रेस्टुरेन्टमा दैनिक परिकारसँगै महिनाको अन्तिम शनिबार मात्र उपलब्ध हुने दाङको बदीया भाले विशेष आकर्षणका रूपमा रहने उहाँले बताउनुभयो । साथै चाउमिन, मःमः, रोटी–सब्जी, समोसा, चिया, खसीको भुटुवा, कटनेसी, चिकेन तथा मटनका विविध स्वादिष्ट परिकार सुविधा सम्पन्न वातावरणमा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
अर्का सञ्चालक हिमाल आचार्यले विदेशका वर्षौँका अनुभवपछि दाजुभाइहरूलाई यही काममा रमाइरहेको देखेर आफूलाई पुनः विदेश नफर्की स्वदेशमै केही गर्ने प्रेरणा मिलेको बताउनु भयो । “अब ग्राहकको सन्तुष्टि नै हाम्रो ‘ससुराली रेस्टुरेन्ट’को सन्तुष्टि हो,” उहाँले थप्नुभयो ।

करिब १५ लाख रुपैयाँको लगानीमा स्थापित रेस्टुरेन्टले आउने पाहुनालाई उत्कृष्ट स्वाद र गुणस्तरीय सेवा दिने लक्ष्य राखेको संचालकहरूले बताएका छन् । साथै छिटोछरितो सेवामा स्वादिष्ट र स्वच्छ खानेकुरा खुवाउने प्रतिबद्धता रहेको रेस्टुरेन्ट सञ्चालकहरुले जनाएका छन् ।
‘ससुराली रेस्टुरेन्ट’ नेपालगन्ज सुर्खेत रोडबाट पूर्वी ५० मीटर घरबारीटोल जाने बाटोमा अवस्थित छ ।

नेत्र पाटी । ५ मंसिर २०८२, शुक्रबार ०८:३७