बाँकेमा अस्पष्ट नम्बर प्लेट पुनर्लेखन अभियान, हप्ताभरमा १०५ सवारी साधनमा नम्बर स्पष्टिकरण

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले कात्तिक महिनाको अन्तिम सातादेखि लागू हुनेगरी सार्वजनिक तथा निजी सवारी साधनमा देखिएका अस्पष्ट नम्बर प्लेट पुनर्लेखन अभियान सञ्चालन गरेको छ ।

“सार्वजनिक तथा निजि सवरी साधनहरुमा अस्पष्ट नम्बर प्लेटलाई पुनर्लेखन गर्ने बिशेष साप्ताहिक कार्यक्रम” अभियानका साथ कार्यालय तथा मातहतका पोष्टहरूको संयुक्त सक्रियतामा सञ्चालन गरिएको उक्त विशेष साप्ताहिक कार्यक्रमअन्तर्गत १०५ वटा सवारी साधनका नम्बर प्लेट पुनर्लेखन गरिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक शाहीका अनुसार कार्यालयले प्रत्येक हप्ता फरक–फरक विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा, उक्त कार्यक्रमअन्तर्गत महिनाको अन्तिम सातालाई नम्बर प्लेट स्पष्टिकरण सप्ताहकारुपमा अभियान सन्चालन गरिएको हो ।

शाहीका अनुसार अस्पष्ट नम्बर प्लेटका कारण सवारी साधन पहिचानमा समस्या हुने भएकाले चालकलाई एक पटकका लागि बिना कारवाही सम्झाइबुझाई गर्दै नम्बर प्लेट स्पष्टिकरण गराइ पठाइएको हो ।

यस अभियानमा गनापुर, नेपालगन्ज, हाईस्कुल, धनौलीलगायत ८ वटा ट्राफिक पोष्टका टोलीहरूले संयुक्त रूपमा सहभागिता जनाएका थिए ।

प्रहरी निरीक्षक शाहीले हुस्सुका कारण बढ्ने दुर्घटना न्यूनिकरणका लागि मंसिरको पहिलो साताबाट सवारी साधनमा रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान पनि सुरु भइसकेको जानकारी दिनुभयो ।

यसअघि सञ्चालन गरिएको कारवाहीमा ई–भि भ्यान तथा म्याजिक भ्यानले मनपरी ढंगले प्यासेन्जर झुण्ड्याउन बनाइएका फलामका डण्डी तथा अतिरिक्त सिट जडान गरी सवारी सञ्चालन गरेको आरोपमा ६४ सवारी साधनमाथि कारवाही गरिएको थियो ।

त्यसैगरी, अत्यधिक ओभरलोड गरेर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर ओभरलोड हटाइ कानुनबमोजिम कारवाही गरी पठाइएको समेत कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया