पश्चिम नेपालमा ‘नेपाल संवाद क्लब’ स्थापना, साझा जनएजेन्डामा बहसको प्रमुख मंच बन्ने

बाँके। वरिष्ठ पत्रकार तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पश्चिम नेपालको साझा जनएजेन्डामा बहस र संवादका लागि ‘नेपाल संवाद क्लब’ महत्वपूर्ण मंच बन्ने बताउनुभएको छ । मंगलबार नेपालगन्जमा आयोजित विशेष उद्घाटन समारोहमा बोल्दै उहाँले संचारले समाज परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै जनताको समस्या समाधानमा संवाद क्लबले अनुकरणिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उक्त क्लबको उद्घाटन धमलाले पानसमा दियो बालेर गर्नुभएको थियो ।

उहाँले वर्तमान परिवेशमा यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अब रिपोर्टर्स क्लबको नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्ने तयारीमा रहेको समेत खुलाउनु भयो ।“नेपाल संवाद क्लब पश्चिम नेपालका विभिन्न एजेण्डामा सबै सरोकारवालालाई एकै मञ्चमा ल्याई बहस र संवाद गर्ने अनुकरणीय उदाहरण बन्नुपर्छ,” उहाँले थप्नुभयो ।

नेपाल संवाद क्लबका अध्यक्ष आशिष मल्ल ठकुरीले देशमा राजनीतिक जालो र पार्टीगत स्वार्थका कारण सर्वसाधारणका आवाज दबिएर गएको भन्दै ती आवाज बुलन्द बनाउन क्लबको स्थापना गरिएको बताउनुभयो । मल्लका अनुसार पश्चिम नेपालका जनताको पीडा, आवाज र दबिएका मुद्दालाई उजागर गर्नु क्लबको मुख्य उद्देश्य हो ।

समारोहमा प्रमुख अतिथि वरिष्ठ पत्रकार धमला, अध्यक्ष आशिष मल्ल ठकुरीको अध्यक्षता र नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह (महारानी), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति अध्यक्ष टेकेन्द्र मल्ल लगायत पश्चिम क्षेत्रका अधिकांश पत्रकारहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया