नेपाली भनी गर्व गर्नुमा पृथ्वीनारायण शाहको देन: ठकुरी सहयोग संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाही

बाँके । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

दिवसको अवसरमा ठकुरी सहयोग संजाल बाँके, प्रदेश नं ५, प्रदेश नं ६ र र ठकुरी पत्रकार समाज बाँकेले संयुक्त रुपमा नेपालगन्जमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उनको फोटोमा माल्यार्पण र दिप प्रज्वलन गरेको छ । नेपालगन्जको बिरेन्द्र (धम्बोझी) चोक मा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाएको हो ।

शाहले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक भएकालेे हामिले उनको उपदेशलाई पछ्याउँदै जानुपर्ने ठकुरी सहयोग संजाल कर्णाली प्रदेशका अध्यक्ष देव बहादुर शाहिले बताए ।

विक्रम संवत् १७७९ मा गोर्खामा जन्मिएका शाहले २० वर्षको उमेरमा तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको बताउँदै ठकुरी सहयोग संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाहिले हामी नेपाली हौं भनेर यो ठाउँमा गर्व गरेर बस्न पाउनु र नेपाली भनेर चिनिनुमा पृथ्वीनारायण शाहकै देन भएकाले पनि हामिले पृथ्वीनारायण शाहलाई सधैं सम्झनु पर्ने बताए ।

बाइसे चौबिसे राज्यमा टुक्रिएको यो देशलाई एक शुत्रमा बाँधेर सिंगो राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहलाई हामिले जन्म जयन्तीमा मात्रै होइन प्रत्येक दिन स्मरण गर्नुपर्ने ठकुरी पत्रकार संजाल बाँकेकी अध्यक्ष करुणा शाहले बताईन् । उनी भन्छिन्, `अहिलेको लोकतान्त्रिक अवस्थामा कोहि कसैले पृथ्वीनारायण शाहलाई सम्झेको छैन भने त्यो नेपाली नै हैन ।´ बडामहाराजधिराज पृथ्वीनारायण शाहले एक शुत्रले बाँधेको देशमा बाँचेर नेपाललाई सिंगो विश्वमा चिनाएका छौं त्यसको मुल श्रेय पनि पृथ्वीनारायण शाहलाई जाने उनको भनाई छ ।

यस्तै ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बाँकेका विभिन्न चोक चोकमा दिप प्रज्वलन गरि मनाईएको छ ।
त्यस्तै, नेपालगन्जमा जयन्तीको अवसर पारेर शिव सेना नेपालले पनि शान्तिपूर्ण मोटरसाइकल र्याली राखेको थियो ।

पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदा दिन पुनः सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया