“सस्तो वाइफाइ”को नाममा सेवाग्राही हैरान: नेट ढिलो, युट्युब नचल्ने

बाँके । सस्तो मात्रै होइन भरपर्दो इन्टरनेट सेवाको दाबी गर्दै आएको वाइफाइ नेपालप्रति सेवाग्राहीको गुनासो बढ्दै गएको छ। सेवा जडान गरेपछि इन्टरनेटमार्फत टिभिमा युट्युब सहज रूपमा हेर्न नसकिने भन्दै प्रयोगकर्ताहरूले असन्तुष्टि जनाएका हुन्।

इन्टरनेट सेवासँगै अतिरिक्त राउटर जडानका लागि प्रयोगकर्ताले बारम्बार अनुरोध गर्दा पनि जडान गर्न प्राविधिक उपलब्ध नभएको कम्पनीका कर्मचारीले बताउने गरेका छन्।

सेवाग्राहीका अनुसार सेवा जडान गर्दा नेट र सेवाबारे स्पष्ट जानकारी नपाउँदा अहिले पछुतो भएको बताएका छन्। सेवाग्राही भन्छन्, “सस्तो नेटको चक्करमा न निल्नु न ओकल्नु भएको छ। नेपालगन्जमा अन्य इन्टरनेट पनि छन्, तर वाइफाइ नेपालको जस्तो सुस्त सेवा अहिलेसम्म देखेको थिइनँ।”

प्रयोगकर्ताका अनुसार सेवा जडान गरेको करिब दुई हप्ता बितिसक्दा पनि न त टिभीमा युट्युब चल्छ, न कर्मचारीको सेवा सन्तोषजनक छ। अतिरिक्त राउटर जडान गर्ने प्राविधिकसमेत उपलब्ध नभएको गुनासो छ।

घरमा इन्टरनेट टिभी (नेट टिभी) जडानका लागि बारम्बार आग्रह गर्दा कर्मचारीले ४–५ दिन भन्दै टार्दै आएको सेवाग्राहीको भनाइ छ। भर्खरै नेट जडान गरेका एक ग्राहकले संस्थाले प्रदान गर्ने सेवाको गुणस्तरप्रति प्रश्न उठाउँदै दुई वर्षका लागि आफू फसेको गुनासो पोखेका छन्।

सस्तो शुल्कको आकर्षणमा सेवा लिएका ग्राहकहरू अहिले गुणस्तरहीन सेवा, ढिलो इन्टरनेट र कमजोर ग्राहक सहयोगका कारण निराश बनेका छन्। आफूले तिरेको रकम फिर्ता पाए पुनः यस्तो इन्टरनेट नजोड्ने सेवाग्राहीको भनाइ छ ।

तपाईको प्रतिक्रिया