नेपालगन्ज यातायात कार्यालयमा बिचौलियाको बढ्दो सक्रियता,सेवाग्राही मारमा

नेपालगञ्ज । केहि दिन अघि बाँकेको सितापुर गाउँकी सनम सुवेदी आफ्नो स्कुटरको ब्लुबुक नवीकरण गर्न नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय पुग्छिन् । बच्चालाई स्कुल पठाएर फुर्सद मिलाई करिब एक घण्टाको यात्रा गरेर कार्यालय पुगेकी उनलाई कार्यालय परिसर नजिकै विभिन्न व्यक्तिहरूले घेर्छन्। “के काम प¥यो दिदी, म गर्दिन्छु” भन्दै उनीहरू प्रस्ताव राख्छन्। यसरी दिनदहाडै उनीजस्ता सेवाग्राहीहरू बिचौलियाको जालमा फस्न बाध्य भइरहेका छन् ।

नेपालगञ्ज–कोहलपुर सडकदेखि करिब ५०० मिटर पश्चिममा रहेको यातायात व्यवस्था कार्यालय आसपासको क्षेत्र अहिले बिचौलियाको अखडा जस्तै बनेको छ । कार्यालयको करिब ४०० मिटर वरपरका सटरहरू भाडामा लिएर हाेस या सडक फुटपाथनै कब्जा गरेर हाेस् बिचौलियाहरूले आफ्नो कारोबार सञ्चालन गरिरहेका छन्। उनीहरूले फारम उपलब्ध गराउनेदेखि फारम भर्ने, कागजात मिलाउने र कर्मचारीसँग सेटिङ मिलाएर छिटो काम गरिदिने दाबी गर्दै सेवाग्राहीसँग मनपरी रूपमा अतिरिक्त शुल्क असुलिरहेका छन्।

बिचौलियाको बढ्दो प्रभावका कारण अहिले कार्यालय वरिपरि अन्य व्यवसायका लागि सटरसमेत पाउन मुस्किल भएको छ। स्थानीयहरुका अनुसार पहिले सुनसान रहेको यस क्षेत्र अहिले अत्यधिक भीडभाडयुक्त बनेको छ। सडकमै सेवाग्राहीलाई रोकेर कुराकानी गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिमसमेत बढेको उनीहरूको भनाइ छ।

कार्यालयभित्रको झन्झटिलो प्रक्रिया, जटिल कागजी काम र कर्मचारीबाट हुने ढिलासुस्तीका कारण सेवाग्राहीहरू बिचौलियाको सहारा लिन बाध्य हुने गरेका छन्। प्रक्रिया सरल नहुँदा यस्ता बिचौलिया फस्टाउने वातावरण बनेको हो।

यो समस्या केवल यातायात कार्यालयमा सीमित नभई भन्सार, नापी, मालपोत लगायतका अधिकांश सरकारी निकायमा पनि देखिन्छ। सेवा लिन आउने नागरिकले अनावश्यक रूपमा अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ, जसले सार्वजनिक सेवामाथि नै प्रश्न उठाएको छ।

नयाँ सरकार गठनपछि भने यस्ता गतिविधिमाथि निगरानी बढाउने प्रयास सुरु भएको छ। सरकारको निर्देशनअनुसार देशभरका यातायात कार्यालयहरूमा बिचौलियाविरुद्ध कारबाही तीव्र पारिएको छ। पछिल्लो दिन यता काठमाडौँको सानोभर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट ७ जना, भक्तपुरबाट २ जना र सुर्खेतबाट १० जना बिचौलिया पक्राउ परेका छन्।

तर नेपालगञ्जमा भने अझै पनि बिचौलियाको प्रभाव घट्न सकेको छैन। समाचार तयार पार्दैगर्दा एक कर्मचारी स्रोतका अनुसार नेपालगञ्जबाट मात्र ९ जना बिचौलिया पक्राउ परिसकेका छन् ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख कालिदास बस्यालका अनुसार बिचौलियालाई अरूको काम लिएर कार्यालयमा नआउन निर्देशन दिइएको छ । “सेवाग्राही आफैं आएर सेवा लिनु राम्रो हो। प्रक्रिया नबुझेका सेवाग्राहीलाई सहयोग गर्न सकिन्छ, तर अनावश्यक शुल्क असुल्न वा दबाब दिन पाइँदैन,” उनले बताए।

तपाईको प्रतिक्रिया