नेपालगञ्ज यातायात कार्यालयबाट ९ बिचौलिया पक्राउ

नेपालगन्ज।  नेपालगन्ज यातायात व्यवस्था कार्यालयबाट ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयको कार्यकक्षमै शंकास्पद गतिविधि गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बिना परिचयपत्र कार्यालयभित्रै फाइलहरूमा शंकास्पद लेखापढी कार्य गरिरहेको अवस्थामा फेला परेका थिए।

गत चैत्र ४ गते यातायात व्यवस्था कार्यालय बाँकेले लेखापढी व्यवसायी तथा श्वरुम प्रतिनिधिका लागि कडा निर्देशनसहित सूचना जारी गरेको थियो। सूचनामा सेवा दिने व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र बोकेको हुनुपर्ने,बाटोमा बसी सेवाग्राहीहरुलाई करकाप पार्न नहुने र सेवाग्राही स्वतन्त्र रूपमा स्वयं आफ्नो काम आफैं गर्न सक्ने वातावरण मिलाउन सहयोग गर्ने तथा कार्यालयभित्र अनधिकृत गतिविधि पूर्ण रूपमा निषेध बारे उल्लेख गरिएको छ।

कार्यालयको सूचना बोर्ड तथा गेटमा टाँस गरिएको सूचनाअनुसार सेवाग्राहीको काममा सेवाग्राहीलाई स्वयं कार्यालयभित्र प्रवेश गराई सेवा लिन पठाउनुपर्ने तथा लेखापढी कार्य कार्यालय बाहिरबाटै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । उल्लंघन गरेमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

कार्यालय प्रमुख कालिदास बस्यालले पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरी लेखापढी गर्नेहरू सक्रिय रहेकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए । उनले सेवाग्राहीलाई अनावश्यक झन्झट र अतिरिक्त शुल्कबाट जोगाउन यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिए।

नयाँ सरकार गठन भएको एक साताभित्रै देशभरका यातायात कार्यालयहरूमा बिचौलियाविरुद्ध निगरानी र कारबाही तीव्र पारिएको छ। पछिल्लो समय काठमाडौँको सानोभर्याङस्थित कार्यालयबाट ७ जना, भक्तपुरबाट २ जना र सुर्खेतबाट १० जना बिचौलिया पक्राउ परिसकेका छन्।

सरकारी कार्यालयहरूमा बिचौलियाको बढ्दो सक्रियताले सार्वजनिक सेवाको पारदर्शिता र प्रभावकारितामा असर पारिरहेको कारणले सरकारले यस्ता क्रियाकलाप गर्नेलाई कडाइ गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया