नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ। विद्यालयहरूले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरूमा थप आर्थिक बोझ परेको भन्दै आएको जनगुनासोपछि यस्तो निर्णय गरिएको हो।
नगरभित्रका सम्पूर्ण संस्थागत विद्यालयहरूले अब तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने भएका छन्। उपमहानगरपालिकाले आइतबार जारी गरेको उपसचिव गोरख बहादुर थापाद्वारा हस्ताक्षरित पत्रअनुसार प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्ने प्रवृत्तिले अभिभावकहरूमा आर्थिक भार थपिएको गुनासो आएपछि यस्तो व्यवस्था लागू गरिएको हो।
पत्रमा उल्लेख भएअनुसार तीन वर्षपछि मात्रै विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्न पाउनेछन्। तर, त्यसका लागि समेत उपमहानगरपालिकाको कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्नेछ।
साथै, उपमहानगरपालिकाको पूर्व अनुमति बिना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ।


नेत्र पाटी । २२ चैत्र २०८२, आईतवार १६:२७