बाँकेमा फोकस र फग लाइट नियन्त्रण अभियान, ६८५ सवारी चेक गर्दा ११७४ लाइट जफत

बाँके । बाँके ट्राफिक कार्यालयले सवारी साधनमा अनावश्यक रूपमा जडान गरिएका फोकस लाइट, फग लाइट लगायतका अस्वभाविक बत्तीहरू नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरेको छ। ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार यस्ता लाइटहरूले विपरीत दिशाबाट आउने सवारी चालकको भिजिबिलिटी कम गराएर दुर्घटनाको जोखिम बढाउने भएकाले नियन्त्रण अभियान थालिएको हो।

जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा संयुक्त रूपमा एक हप्ते लक्ष्यसहित जिल्लाभर अभियान सञ्चालन गरिएको थियो । उक्त अवधिमा ६८५ सवारी साधनमा चेकजाँच गर्दा ११७४ वटा फोकस लाइट, फग लाइट तथा अन्य अनावश्यक रूपमा झुण्ड्याइएका बत्तीहरू जफत गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक कार्यालयका अनुसार जिल्लाभर मोडलिङ शैलीमा जडान गरिएका करिब ७०–७५ प्रतिशत सवारी साधनबाट यस्ता लाइटहरू हटाइएको छ। प्रहरी निरीक्षक शाहीले लामो दूरीका सवारी साधनलाई लक्षित गर्दै कर्णालीतर्फ चिसापानी, सुदूरपश्चिमतर्फ सम्झना चोक, भारत आवतजावत गर्ने सवारीका लागि नेपालगन्ज र धनौली लगायतका स्थानमा चेकपोइन्ट स्थापना गरी सचेतना र कारबाही दुवै गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार नेपालभर फेसनका रूपमा अस्वाभाविक तरिकाले जडान गरिने यस्ता लाइटहरू नियन्त्रण गर्न सके सवारी दुर्घटनामा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।

फोटो र समाचारमा उल्लेख गरिएको डाटा सहरा टिभी अनलाइन बाट साभार गरिएको छ ।

तपाईको प्रतिक्रिया