बाँकेमा जली मृत्यु प्रकरण: दुई मुख्य अभियुक्त पक्राउ

बाँके। बाँके प्रहरीले नेपालगन्जकी एक युवतीको जली मृत्यु प्रकरणमा संग्लन फरार दुई जना मुख्य अभियुक्तलाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी २२ वर्षीया सृजना बुढा मगरको घटनामा संलग्न रहेको आरोपमा मो. आरिफ ढपालीका भाइ आदिल ढपाली र उनका बुबा रजमद ढपालीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

गत चैत १४ गते राति करिब साढे ११ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित सडकमा सृजनाको जली मृत्यु भएको थियो। घटनापछि मृतकका परिवारले जाहेरी दिएसँगै प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।

जाहेरी पश्चात अनुसन्धानको पहिलो चरणमा प्रहरीले अभियुक्त भनिएका मो. आरिफ ढपालीकी आमा र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ। यसैबीच फरार सूचीमा रहेका मुख्य अभियुक्तहरूलाई चैत ३० गते प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान कार्य जारी रहेको छ।

तपाईको प्रतिक्रिया