नेपालगन्ज । नेपालगन्ज वाटरपार्कको खुला मैदानमा आयोजित “नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिवल २०२६” विशेषगरी बाँके जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरूको प्रचारप्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन तथा होटल व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो। तीन दिनसम्म रात्रिकालीन रूपमा सञ्चालन गरिएको यो महोत्सव आयोजकका अनुसार करिब ३५ हजार दर्शकको उत्साहपूर्ण सहभागितासहित भव्य रूपमा सम्पन्न भएको दाबी गरिएको छ। तर दोस्रो र तेस्रो दिनमा भएको झडपका कारण यो महोत्सव उत्सवभन्दा बढी विवादको केन्द्र बनेको आम नागरिकको गुनासो छ।
महोत्सवमा प्रवेशका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको थियो। टिकट काटेर प्रवेश गरेका दर्शक एकै स्थानमा विभिन्न स्तरका होटलका परिकारको स्वाद लिन उत्साहित देखिएका थिए। तर सस्तो टिकटदरकै कारण अत्यधिक भीड बढ्दा सेवा व्यवस्थापन कमजोर बन्न पुग्यो। पाँचतारे होटलका स्टलसमेत ग्राहकको अर्डरअनुसार परिकार पस्किन असफल देखिए। कतिपयले त सामान्य मिनरल वाटरसमेत तातो अवस्थामा खानुपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
महोत्सवमा खुला रूपमा पेय पदार्थ बिक्री वितरण हुनु अर्को संवेदनशील विषय बन्यो। अत्यधिक सेवनपछि केही समूहबीच विवाद उत्पन्न भई झडपसम्म पुगेको थियो । मनोरञ्जनका नाममा गरिएको यस्तो खुला बिक्रीले कार्यक्रमलाई अव्यवस्थित बनाउने मुख्य कारण साबित गर्यो। अझ नेपाली महान चाड दसैँको दिन सम्म मापसे चेकिङ हुने जिल्लामा तीन दिनसम्म मापसे चेकिङ नदेखिनुले सुरक्षाप्रति लापरवाही भएको संकेत गरेको छ।
अर्कोतर्फ, सामान्य अवस्थामा राति १० बजेपछि व्यवसाय बन्द गराउन सक्रिय रहने प्रहरी प्रशासनले यस महोत्सवलाई भने राति ११–१२ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो। एउटै शहरमा फरक फरक मापदण्ड लागू हुनु प्रशासनको निष्पक्षतामाथि प्रश्न उठाउने आधार बनेको छ। साना व्यवसायीहरूले “हामीलाई कडाइ, महोत्सवलाई छुट किन?” भन्ने प्रश्न उठाए ।
फुड फेस्टिवलको नाममा प्रस्तुत गरिएको ग्ल्यामर शैलीको सांस्कृतिक कार्यक्रमले पनि व्यापक आलोचना खेप्यो। अर्धनग्न शैलीका विदेशी नृत्य तथा प्रदर्शनले परिवारसहित आएका दर्शकलाई असहज बनाएको गुनासो गरे। यसले कार्यक्रमको मूल उद्देश्यभन्दा बाहिर गएको आभास गरायो। परिणामस्वरूप दर्शकको ध्यान खानाभन्दा बढी मनोरञ्जन र पेय पदार्थतर्फ केन्द्रित हुँदा महोत्सवको लक्ष्य नै ओझेलमा परेको देखियो।
महोत्सवमा दोस्रो दिनको झडपपछि व्यवस्थापनमाथि चौतर्फी आलोचना भए पनि तेस्रो दिन पुनः त्यस्तै घटना दोहोरिनुले आयोजकको कमजोरी झन् उजागर गर्यो। भीड नियन्त्रणको अभाव, सुरक्षा संयन्त्रको फितलोपन र अत्यधिक पेय पदार्थ बिक्रीले “नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिवल २०२६” लाई अन्ततः झडपको मैदानमा परिणत गरिदियो।
यद्यपि आयोजकले महोत्सवलाई भव्य रूपमा सम्पन्न भएको दाबी गरेको छ। तर वास्तवमा प्रश्न त त्यहाँ उठ्छ; भीड देखिनु र उपस्थिति बढ्नु मात्रै सफलता हो कि व्यवस्थापन, सुरक्षा र उद्देश्यअनुरूपको सञ्चालन पनि उत्तिकै महत्वपूर्ण हो?


नेत्र पाटी । १४ बैशाख २०८३, सोमबार ०४:४१