नेपालगन्ज।नेपालगन्ज १ विशालनगरचोक नजिक सञ्चालनमा रहेको ‘SS आहार EXPRESS’ नामक घुम्ती फास्टफुड व्यवसाय फरक ढाँचामा सञ्चालन भइरहेको छ । गत पुस महिनादेखि सञ्चालनमा आएको उक्त घुम्ती व्यवसाय सुर्खेत घर भई हाल नेपालगन्जमा स्थायी रूपमा बसोबास गर्दै आएका ४० वर्षीय ससी हमालले सञ्चालन गर्दै आएका छन् ।
करिब ९ वर्षदेखि नेपालगन्जमा बसोबास गर्दै आएका हमालले नेपालगन्जले पहिचान बोकेको स्ट्रिटफूड व्यवसायलाई थप व्यवस्थित र स्वास्थ्यकर बनाउने उद्देश्यसहित व्यवस्थित सोच लिएर यस्तो घुम्ती व्यवसाय शुरु गरेको बताए । एउटा विशेष डिजाइन गरिएको गाडीमार्फत सञ्चालन भइरहेको उक्त व्यवसायमा अहिले विभिन्न प्रकारका फास्टफुड परिकारहरु उपलब्ध गराइँदै आएको छ ।
सञ्चालक हमालका अनुसार नेपालगन्जमा फास्टफूड ग्राहक बढ्दो भएतापनि धेरै स्थानमा हाइजेनिक तथा गुणस्तरीय परिकारको अभाव देखिएको छ । त्यसैले आफूहरुले सफा, स्वस्थकर र व्यवस्थित तरिकाले परिकार पस्किन खोजेको उनले बताए । “नेपालगन्जमा स्ट्रिट फुडको बजार ठूलो छ । तर ग्राहकले स्वस्थकर खाना पाउनुपर्ने आवश्यकता महसुस गरेर हामीले नयाँ शैलीमा यो व्यवसाय शुरु गरेका हौं,” हमालले भने ।
उनका अनुसार घुम्ती व्यवसायलाई आधुनिक र व्यवस्थित स्वरूप दिन करिब २५ लाख रुपैयाँ लगानी गरिएको छ । नेपालगन्जसँगै सुर्खेतमा पनि यही अवधारणामा व्यवसाय सञ्चालन भइरहेको उनले जानकारी दिए । सुर्खेत शाखा उनका सालाले सञ्चालन गर्दै आएका छन् भने नेपालगन्ज शाखाको जिम्मेवारी स्वयं हमालले सम्हालिरहेका छन् ।
यद्यपि व्यवसाय सञ्चालनमा कानुनी तथा प्रशासनिक जटिलता भने अझै रहेको उनले गुनासो गरे । यस्ता घुम्ती व्यवसाय दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयदेखि स्थानीय तहसम्म धाउँदा समेत स्पष्ट नीति तथा प्रक्रिया नपाइएको उनको गुनासो छ । “घुम्ती व्यवसाय कुन निकायमा दर्ता गर्ने भन्ने नै अन्योल छ । एक कार्यालयले अर्को कार्यालय पठाउँछ,” उनले बताए ।साथै,”स्थानीय सरकारसँग पनि स्पष्ट नीति तथा ढाँचा छैन।” उनले थपे ।
तर,उस्तै अवधारणाको अर्को व्यवसाय सुर्खेतमा भने सम्बन्धित निकायमा दर्ता गरी सञ्चालन गरिएको हमालले जानकारी गराए ।,उनले भने “नेपालगन्जको हकमा स्थानीय तहको स्पष्ट नीति तथा व्यवस्थित ढाँचा नहुनाले दर्ता प्रक्रिया अघि बढेको छैन।”
दैनिक करिब ३० हजार रुपैयाँसम्म कारोबार हुने उक्त घुम्ती व्यवसाय दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा रहन्छ । घुम्तीमा मःमः, चाउमिन, पिजा, बर्गर, ससेज, ललिपप, आइसक्रिम लगायत विभिन्न चिसो तातो परिकार पाइन्छन् ।
यस क्षेत्र वरपर विद्यालयहरु नजिकै भएकाले बेलुकीको समयमा विद्यार्थी र अभिभावकको चहलपहल बढ्ने गर्छ। सोहीक्रममा घुम्तीमा व्यवस्थित तरिकाले परिकार पस्किएको देखेपछि सबै उमेर वर्गका मानिसहरू स्वाद लिन बढ्दै गएको हमालको भनाइ छ । साथै,स्थानीय परिवार तथा युवापुस्ता ग्राहकको मुख्य आकर्षण बनेको सञ्चालक हमाल बताउँछन् ।

सडक छेउमै व्यवसाय सञ्चालन गरिए पनि परिकार तयार पार्ने प्रक्रिया, प्रयोग हुने तेल तथा फ्रोजन सामग्रीको गुणस्तरमा विशेष ध्यान दिइएको सञ्चालक हमालले दाबी गरे । “स्ट्रिट फुड भनेपछि अस्वस्थकर भन्ने धारणा चेन्ज गर्ने प्रयास गरेका छौं,” उनले भने ।
हाल ७ जनाले प्रत्यक्ष रोजगारी पाएको उक्त व्यवसायलाई आगामी दिनमा अझै विस्तार गर्ने योजना रहेको हमालले बताए । उनले युवाहरू विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै श्रम र सीप प्रयोग गरेर सम्भावना खोज्नुपर्ने धारणा समेत राखे । “मेहनत गर्ने हो भने नेपालमै पनि धेरै सम्भावना छन्,” उनले भने ।

नेत्र पाटी । १२ जेष्ठ २०८३, मंगलवार १०:०२