बाँके । लामो समयदेखि साहित्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनुभएका साहित्यकार तथा अधिवक्ता भीम बहादुर शाही सम्मानित हुनुभएको छ । आइतबार राप्ती साहित्य परिषद् घोराहीद्वारा आयोजित विशेष कार्यक्रममा टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०८२ अन्तर्गत शाहीलाई सम्मानस्वरूप आदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।
कुलराज भण्डारीद्वारा स्थापित उक्त आदरपत्रमा विगत लामो समयदेखि गीत, कथा, काव्य, उपन्यास सिर्जना तथा अनुवादका माध्यमबाट नेपाली भाषा साहित्यको संरक्षण तथा उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको उल्लेख छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी साहित्यकार तथा अधिवक्ता भीम बहादुर शाही शिक्षक तथा वकिल पेशाबाट अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ ।
टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार–२०८२ अन्तर्गत साहित्यकार तथा अधिवक्ता शाहीले प्राप्त आदरपत्रमा नेपाल संस्कृत विश्वविद्यालय, दाङका उपकुलपति प्रा. डा. सुधनकुमार पौडेलको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रीय समिति अध्यक्ष कमलमणि देवकोटाको हस्ताक्षर रहेको छ ।

नेत्र पाटी । २४ जेष्ठ २०८३, आईतवार १४:५६