नयाँ दिल्ली ।
मान्छेले सोध्ने सबैभन्दा सजिलो प्रश्न हो,“के छ खबर?” तर पछिल्लो एक महिनादेखि यही सजिलो प्रश्न मेरो जीवनकै सबैभन्दा कठिन प्रश्न बनेको छ। म सँग जवाफ पनि एउटै छ, “ठीक छ।” तर यो “ठीक छ” भन्नुभित्र कति डर, कति पीडा,कति झुट,कति आँसु र कति आशा लुकेको छ, त्यो सायद मबाहेक कसैले बुझ्न सक्दैन।
जीवनमा यात्रा अपरिहार्य छ। कसैले सपनाको यात्रा गर्छ, कसैले सफलताको, कसैले घुमघामको तर मेरो यो यात्रा न रहरको थियो, न उत्साहको,यो त डर र आशा, आँसु र साहसबीचको विश्वासयात्रा थियो,नेपालगन्जदेखि नयाँ दिल्लीसम्मको ।
आज मुवाको उपचारको निम्ति नयाँदिल्ली आएको पनी ठीक १ महिना भयो ।
नेपालगन्जमा गरिएको सिटी स्क्यान र विभिन्न रक्त परीक्षणपछि डाक्टरले मुवाको शरीरमा क्यान्सर सेल हुनसक्ने शंका व्यक्त गर्नुभयो । त्यो एउटा वाक्यले मेरो संसार नै हल्लाइदियो ।
परिवारका सदस्य सामान्य बिरामी हुँदा पनि अत्तालिने म, आफ्नै मुवालाई यस्तो गम्भीर रोगको सम्भावना रहेको सुन्नासाथ आफूलाई झरनाबाट चट्टानमा पछारिएको पानीजस्तै महसुस गर्न थालेँ । बाहिरबाट शान्त देखिन्थेँ, तर भित्रभित्रै पूर्ण रूपमा भत्किसकेको थिएँ ।
डाक्टरको सल्लाहपछि नयाँ दिल्लीको रोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जाने निर्णय गरे । निर्णय कठिन थियो, तर निर्णयमा विश्वास र भरोसा गर्नैपर्ने समय थियो । घरमा सबैलाई ढुक्क पार्ने जिम्मेवारी पनि मेरै काँधमा थियो ।
सायद हाम्रो समाजले पुरुषलाई खुलेर रुने अधिकार अझै दिएको छैन । त्यसैले गहभरि आँसु हुँदाहुँदै पनि मुस्कान देखाउनुपर्छ । आफ्नै मनलाई सम्हाल्न नसकेको म अरूलाई “चिन्ता नगर्नुस्, सबै ठीक हुन्छ” भन्नुपर्ने अवस्था छ ।
यात्राको अघिल्लो रात मेरो जीवनकै सबैभन्दा लामो रात बन्यो । मनले बारम्बार भनिरहेको थियो, “काश, यो सबै एउटा नराम्रो सपना मात्र होस्।” तर हरेकपटक आँखा चिम्लिँदा वास्तविकताको पर्खालले त्यो सपनालाई घेरेर राखिदिन्थ्यो । आँखा बन्द गर्दा डर हुन्थ्यो, आँखा खोल्दा आशाका किरण झल्किन थाल्थे ।
घरपरिवारसँगको सल्लाहपछि शुभ साइत हेरेर नयाँ दिल्लीतर्फ लाग्यौँ । यो मेरो पहिलो दिल्ली यात्रा थियो । तर यो यात्रामा उत्साह थिएन, थियो त केवल पीडाको भारी ।
यात्रामै हामीजस्तै आफ्नी आमाको उपचारका लागि आएका शेखर घर्तीमगरसँग भेट भयो । अस्पतालको भीडमा अपरिचित भएर पनि हामी आफ्नैजस्ता भयौँ । एउटै पीडाले अपरिचित मनहरूलाई पनि नजिक बनाउँदो रहेछ। त्यही बेला मैले पहिलोपटक महसुस गरेँ; दुःखले रगतको सम्बन्ध मात्रै खोज्दैन रहेछ, उस्तै पीडा बोकेका मनहरूलाई पनि जोड्दो रहेछ ।
अस्पतालमा आएदेखि विभिन्न परीक्षण सुरु भए। प्रत्येक परीक्षणपछि रिपोर्ट आउने समय मेरो लागि कुनै सजायभन्दा कम थिएन । मनमा एउटै प्रार्थना हुन्थ्यो,“यो नदेखियोस्,त्यो नदेखियोस्…” तर जीवन हाम्रो चाहनाअनुसार कहाँ चल्दोरहेछ र?
बायोप्सी गरिएको दिन मेरो जीवनकै अर्को कठिन दिन बन्यो। परीक्षणपछि केही घण्टा अब्जरभेसनमा राख्ने भनिएको थियो । तर अचानक मुवालाई सास फेर्न गाह्रो भयो । उहाँ अत्तालिँदै भन्नुभयो,“मलाई बेहोस बनाइदेऊ, सास फेर्न सकिनँ।”
त्यो क्षण मभित्रको सबै साहस टुट्यो।
म उहाँको खुट्टा मसाज गर्दै “नआत्तिनुस्” भनिरहेको थिएँ, तर केहीबेरपछि आफैँ सम्हालिन सकिनँ। बाहिर निस्केर अस्पतालको कुर्सीमा बस्दा संसार नै रित्तिएको जस्तो लाग्यो।
डाक्टरले यस्तो अवस्था सय जनामध्ये दुई जनामा मात्र देखिने बताउनुभयो । त्यो सुनेपछि झन् मन आत्तियो। तर केही घण्टापछि मुवा विस्तारै सामान्य हुनुभयो। त्यो दिन मैले भगवानसँग गरेको प्रार्थना सायद भगवानले सुनिरहनुभएको थियो।
दुःखको यात्रामा भगवान कहिलेकाहीँ मानिसकै रूपमा आउँदारहेछन्।
विराटनगरका कैलाश श्रेष्ठजी र सोही अस्पतालमा कार्यरत राजेशजीजस्ता सहयोगी हातहरू हाम्रो जीवनमा त्यही कठिन समयमा आइपुगे । उहाँहरूको सहयोग र आत्मीयता जीवनभर बिर्सन सक्ने छैन। पैसा तिर्न सकिन्छ, तर दुःखमा दिएको साथको मूल्य कहिल्यै तिर्न सकिँदैन। सायद त्यसैले यस्ता सहयोगको ऋणी मानिस जीवनभर रहिरहन्छ।
त्यस्तै दिनहुँ अस्पताल, फेरि परीक्षण, फेरि प्रतीक्षा।
अन्ततः शल्यक्रियाको तयारी पूरा भयो। हामीमा अब सिधै अपरेशन हुने भयो भन्ने आशा पलाएको थियो । तर भगवानले हाम्रो परीक्षा अझै सक्नुभएको रहेनछ । फेरि IHC र ल्याप्रोस्कोपीमार्फत थप परीक्षणतर्फ डाक्टरको ध्यान गयो।
डाक्टरको एउटा भनाइ अझै कानमा गुञ्जिरहेको छ,“यदि चौथो स्टेज भयो भने अप्रेशन सम्भव हुँदैन, केवल थेरापी । यदि तेस्रो स्टेज भयो भने थेरापीपछि शल्यक्रिया गर्न सकिन्छ।”
त्यो कुरा सुन्दा मसँग “हस्” बाहेक अर्को शब्द भएन ।
साउन ७ गते, मुवालाई ल्याप्रोस्कोपीका लागि अपरेशन थिएटरभित्र लगियो । झण्डै दुईदेखि अढाई घण्टाको त्यो प्रतीक्षा मेरो जीवनकै सबैभन्दा कष्टकर समयमध्ये एक थियो।
अप्रेशनपछि डाक्टर बाहिर आएर भन्नुभयो,“कण्डिसन थर्ड स्टेज मे है, तीन साइकल कीमो लगाएंगे, फिर अपरेशन करेंगे।”
त्यो वाक्यले मेरो मनमा नहुनुभन्दा केही आशा जगायो ।
मुवालाई केही समय आईसीयूमा राखियो। आईसीयूमा उहाँलाई भेटेर बाहिर निस्किँदा मन निकै भारी थियो। केही समयपछि वार्डमा सारियो।
ल्याप्रोस्कोपी पछि डाक्टर शीबेन्द्रले कीमो सम्बन्धी डाक्टर तर्वाल सँग भेट्न सिफारिस गर्नुभयो ।
मुवाको शारीरिक अवस्थालाई ध्यानमा राख्दै डाक्टरले एक साइकल किमोथेरापीलाई दुई पटक गरी दिने पोर्टोकल बनाउनु भयो । सोहीअनुसार भोलिपल्ट किमो सुरु भयो।
किमो सकिएको केही घण्टापछि मुवालाई रिंगटा लाग्यो। फेरि मेरो मन डरले भरियो। ECG लगायतका परीक्षण गरियो। विस्तारै अवस्था सामान्य हुँदै गयो। राति उहाँ शान्तसँग सुत्नुभएको देखेपछि मात्र मैले पनि आँखामा निद्रा ल्याउने प्रयास गरेँ।
किमो लगातार लगाइने रहेनछ। एउटा किमोपछि अर्को किमोका लागि केही समय पर्खनुपर्ने रहेछ। अर्को किमो लगाउने मिति दिएर हामीलाई अस्पतालबाट डिस्चार्ज गरियो।
नेपालगन्जदेखि नयाँ दिल्लीसम्मको यो यात्राले मलाई एउटा गहिरो सत्य सिकायो, आनन्दको जिन्दगी कसैले पूर्ण रूपमा पाएको हुँदैन रहेछ। एउटा समस्याले मनमा थन्किएका सबै खुसीका ढोकाहरू एकैछिनमा बन्द गरिदिँदो रहेछ। संसारको सबैभन्दा ठूलो सम्पत्ति धन मात्र होइन रहेछ,निरोगी शरीर पनि रहेछ। पैसा फेरि कमाउन सकिन्छ, तर रोगले एकैछिनमा कर्म गर्ने शक्ति नै खोस्ने प्रयास गर्दोरहेछ ।
क्यान्सर अस्पतालमा उपचारका लागि आएका अधिकांश नेपाली बिरामीका परिवारसँग कुराकानी गर्दा नेपालमा क्यान्सर रोगकको विश्वसनीय उपचार नहुँदा भारतसँग धाउनु परेको गुनासो सुनिन्छ । उहाँहरुको एउटै दुःख छ,यदि नेपालमै क्यान्सरजस्ता जटिल रोगको गुणस्तरीय उपचार उपलब्ध भएको भए,आफ्नै परिवार,आफन्त र परिचित वातावरणमा बसेर उपचार गर्न पाउँदा आधा रोग त मानसिक रुपमै निको हुने थियो । विशेषज्ञ चिकित्सकको कमी, अत्याधुनिक प्रविधि तथा उपचार सुविधाको अभाव र कतिपय ठाउँमा हुने लापरबाहीका कारण विदेशी भूमिमा धाउनुपर्ने बाध्यता सिर्जना भएको गुनासो धेरैले यहाँ सुनाउँछन् ।
अधिकांश क्यान्सर पीडितहरूको चाहना नेपालमै विश्वसनीय, आधुनिक र गुणस्तरीय क्यान्सर उपचार सेवा विस्तार होस्, ताकि कुनै पनि नेपाली उपचारका लागि आफ्नो देश छोड्न बाध्य नहोस् भन्ने छ ।
साउन १५ गते मुवालाई पहिलो साइकल पूरा गर्न पुनः अस्पताल भर्ना गरियो।
हरेकपटक परीक्षणको समय नजिकिँदा मनमा एउटै आशा पलाउँथ्यो “रिपोर्ट राम्रो आओस्।”
तर पहिलो किमोको अंशिक भागपछि मुवाको हेमोग्लोबिन घटेको रहेछ। रगत आवश्यक भयो।
शहर जति अन्जान भए पनि समस्याका बेला सहयोगी हातहरू भेटिँदा रहेछन्। त्यस्तो कठिन घडीमा आफ्नै परिवारझैँ साथ दिँदै रक्तदानका लागि तत्पर भएर सहयोग गर्नुहुने दिल्लीमा बस्दै आउनुभएका रोहित दाइको भतिज र रोशनप्रति म हृदयदेखि नै कृतज्ञ छु।
राति करिब सवा १ बजेतिर रगत चढाउन सुरु भयो। झण्डै बिहान ४ बजेर ३७ मिनेटमा सकियो। अन्ततः पहिलो साइकल किमो पूरा भयो।
आज यस ठाउँमा बस्न लगेकोपनी १ महिना पुग्यो । तर मनले भने आजसम्म पनि यो शहरलाई सहज रूपमा स्वीकार गर्न सकेको छैन। सायद यहाँको वातावरणसँग म घुलमिल हुन सकेको छैन। यहाँका मानिसहरूको बोल्ने शैली, व्यवहार, वरिपरि देखिने फोहोर र भीडले पटकपटक आफ्नै ठाउँको सम्झना गराइरहेको छ ।
पहिलो साइकल किमो चढाएको तेस्रो दिन साउन १९ गते,मेरो जीवनमा अर्को कठिन समय आयो। अघिल्लो दिनदेखि मुवालाई पातलो दिसा भइरहेको थियो। बिहान करिब ३ बजे बाथरुम जाँदा दिसामा रगत आएको जस्तो शंका भयो। त्यही एउटा शंकाले मनलाई यति धेरै गाँज्यो कि त्यसपछि प्रत्येक मिनेट भारी लाग्न थाल्यो।
उज्यालो कहिले हुन्छ भन्ने प्रतीक्षामा ४, ५, ६, ७ गर्दै अन्ततः ८ बज्यो।
करिब साढे ८ हुनासाथ म एक्लै अस्पताल पुगेँ। इमर्जेन्सीमा मुवालाई तुरुन्तै बोलाउन भनियो। विभिन्न परीक्षण सुरु भए। ब्लड टेस्ट गरियो। करिब दुई घण्टापछि रिपोर्ट आयो।
रिपोर्ट सामान्य थियो।
त्यो खबरले केही राहत दियो, तर मन पूर्ण रूपमा ढुक्क हुन भने सकेन।
दिनदिनै मुवालाई कमजोर हुँदै गएको महसुस हुन थालेको थियो। साउन २१ गते बिहान उहाँले भन्नुभएको एउटा वाक्यले मेरो मन नै बिथोलिदियो,“साह्रै कमजोर हुँदै गएको छु। अझै किमो चढाउँदै गएर यस्तै कमजोर बनाउँदै गयो भने म त बाँच्दिनँ क्या?”
त्यो शब्द सुन्नासाथ मन डाको छाडेर रुन खोज्थ्यो। उहाँलाई कस्सिएर अँगालो हाल्न मन लाग्थ्यो। तर आफूलाई सम्हालेर, मनभित्रको आँसु लुकाउँदै उहाँलाई यति मात्र भनेँ, “हल्का कमजोर बनाउँछ, तर आत्तिनु हुँदैन। उच्च मनोबल राख्नुपर्छ। सबै ठीक हुँदै जान्छ।”
भन्न त सजिलो थियो।
तर ती शब्दहरू बोल्ने मेरो आफ्नै मन कति डराएको थियो, त्यो मलाई मात्र थाहा थियो।
समय बित्दै गयो। किमोको पाँच दिनपछि मुवालाई केही हलुका महसुस हुँदै थियो। एक्कासि घरबाट श्रीमतीको फोन आयो ! “बाबुलाई सञ्चो छैन, ज्वरो आएको छ। अहिले १०१ डिग्री छ।”
भारी मन झन् भारी हुन पुग्यो । त्यो रात पनि यत्तिकै सोच्दासोच्दै बित्यो। बिहानै रजनीले बाबुलाई अस्पताल लैजानुभयो। विभिन्न रक्त परीक्षण पछि रिपोर्ट राम्रै आएछ । बाबुलाई ५ दिनको औषधि दिएर घर पठाएछ ।
सँगै,सोही दिनको भोलिपल्ट करिब ३ बजे राती बुवाको खुट्टा एक्कासी सुन्निन थाल्यो,असहिय दुखाइ हुन थाल्यो । त्यो रातो नदुख्ने औषधि खाएपछि बुवालाई आराम मिल्यो । भोलिपल्ट नजिकैको र्युमाटोलोजिस्टलाई देखायौँ। उपचारपछि अवस्था फेरि सामान्य हुँदै गयो।
एकातिर मुवा क्यान्सरसँग लडिरहनुभएको छ। अर्कोतिर बुवा बिरामी पर्नुहुन्छ। घरमा छोरा बिरामी भएर तनावले नेटो काटिसकेको थियो ।
विस्तार बुबा र बाबुलाई ठीक हुँदैछ ।
म यहाँ एउटा अपरिचित शहरमा अस्पतालको कोरिडोर, रिपोर्ट, औषधि र प्रतीक्षाका बीच उभिएको छु। कहिलेकाहीँ लाग्छ,म बलियो छैन। केवल बलियो बन्ने बहाना खोज्दै छु । आँसु आउँदा पनि पुछेर हाँस्नुपर्छ। डर लाग्दा पनि “सबै ठीक हुन्छ” भन्नुपर्छ। आफू भित्रबाट टुक्रिँदै गर्दा पनि अरूलाई सम्हाल्नुपर्छ।
सायद यही नै जिम्मेवारी हो।
सायद यहिनै हो मेरो जीवनको कठिन घडी ।
आज पछाडि फर्केर हेर्दा नेपालगन्जदेखि यहाँसम्म आइपुगेको ठीक १ महिनाको दौरानमा यात्रा,बसाइँ केबल दूरी पार गरेको समय मात्रै होइन रहेछ । यो त सोच,धैर्य,मेरो विश्वास र मेरो सम्बन्धहरूको परीक्षा रहेछ ।
यो महिनादिनले मलाई मानिसको वास्तविक मूल्य सिकाएको छ । जस्तै: समयमा मागिएको एउटा सहयोग,अस्पताल देखाइएको सहयोगी हात,रगतको एउटा पोका,बिरामी छेउमा बसेर दिइएको सान्त्वना। जुन पल जिन्दगीको ऋण भएर बसेको छ ।
दोश्रो महिनाको सुरुवाती दिनमा,एउटै आशामा छु । मुवा निको हुनुहुनेछ ।
आज साउन २८ गते,भोलि बाट दोश्रो साइकल कीमो थेरापी शुरु हुन्छ ।
बाटो सजिलो छैन । तर अब डर भन्दा ठूलो भगवान र डाक्टर प्रति ठूलो विश्वास छ ।
भोलि कसैले देखेको छैन । आज यहाँ सम्म आइपुगेका छौं । आजसम्म भगवानले साथ छाड्नुभएको छैन । आजसम्म आशाका एउटा दियोपनी निभेको छैन ।
त्यसैले मुवाको हात समातेर म अझै पनि भन्छु, “आत्तिनु हुँदैन मुवा, हामी घर फर्किन्छौँ। पहिलेभन्दा अझै बलियो भएर फर्किन्छौँ।”
रोहिणी अस्पतालमा मुवालगायत क्यान्सरसँग लडिरहनुभएका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ।
म जस्तै सबै ती परिवारप्रति नमन हो अस्पतालको कोरिडोरमा रात बिताइरहनु भएको छ । रिपोर्टको प्रतिक्षामा बसिरहनुभएको छ, आँशु लुकाएर मुस्कुराइरहन सक्नुभएको छ । र क्यान्सर बिरामीको हात समातेर भगवानलाई सम्झिरहनु भएको छ ।
“हे भगवान छिटो निको बनाइदिनु ।”

नेत्र पाटी । २८ श्रावण २०८३, बिहीबार ०८:१०