एमाले डुङ्गेश्वर इन्चार्ज केसीद्वारा पार्टी परित्यागको घोषणा

केसीले भने - पार्टीको नेतृत्व, कार्यशैली र विचारमा गम्भीर विचलन 

दैलेख। नेकपा (एमाले) दैलेख डुङ्गेश्वरका इन्चार्ज तथा वडा नम्बर २ का पूर्व अध्यक्ष राजु केसीले पार्टीको साधारण सदस्य तथा सम्पूर्ण साङ्गठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

बुधबार केसीले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय पार्टीको नेतृत्व, कार्यशैली र विचारमा गम्भीर विचलन आएकाले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

विज्ञप्तिमा केसीले जनताको बहुदलीय जनवाद (जबज) र लेनिनवादी साङ्गठनिक पद्धतिलाई आत्मसात् गर्दै कम्युनिस्ट पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्न सकिन्छ र देशमा रूपान्तरण ल्याउन सकिन्छ भन्ने विश्वासका साथ आबद्ध भएको उल्लेख गरेका छन्। तर, पछिल्लो समय पार्टी नेतृत्वको कार्यशैली र विचारमा गम्भीर अहंकार भएको भन्दै पार्टीमा बसिरहन औचित्यहीन भएकाले पार्टी परित्याग गरिएको भनिएको छ।

नेकपा (एमाले) दैलेखको सातौँ र आठौँ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्यसमेत रहेका केसीले जारी गरेको विज्ञप्तिमा पार्टी परित्याग गर्नुको कारणसमेत उल्लेख गरेका छन्। जसमा जनविद्रोह र नवयुवाहरूप्रतिको गैरजिम्मेवार रवैया, निरङ्कुश नेतृत्व र आन्तरिक लोकतन्त्रको अन्त्य तथा लगनशील कार्यकर्ताको मूल्यांकन नभएको मुख्य कारणहरू जनाएका छन्।

केसीले विज्ञप्तिमा उल्लेख गरेका कारणहरू प्रष्ट्याउँदै गत वर्ष भएको जेन्जी विद्रोहलाई पार्टीले आत्मालोचना नगरी नवयुवाहरूको सहादतमा नैतिक जिम्मेवारी बहन गर्नुको साटो विध्वंसको रूपमा व्याख्या गरिएको जनाएका छन्।

त्यस्तै, वर्तमान अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुशता र पार्टीमा अहोरात्र खटिने, निष्ठावान् तथा लगनशील कार्यकर्ता पार्टीबाट अपहेलित हुनुले निरङ्कुश र विचारशून्य नेतृत्वले देशमा परिवर्तन ल्याउन नसक्ने भन्दै आफूले पार्टी परित्याग गरेको उल्लेख गरिएको छ।

केसी नेकपा (एमाले) का युवा संघ नेपाल (पार्टी समायोजन समयमा) केन्द्रीय सदस्य र युथ फोर्स २०७० मा अध्यक्ष थिए।

तपाईको प्रतिक्रिया