
नेपालगन्ज। बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बुधबार एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् ।
३० लाख बजेटमा असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी बागेश्वरी काल भैरव कन्स्ट्रक्सनसंग सम्झौता गरिएको छ । पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले केही समय अघि त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ ।
केही भागलाई पार्किङ स्थलका रुपमा पनि छुट्ट्याउने योजना छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। त्यस अवसरमा उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्