
नेपालगन्जका विभिन्न पाँच स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये बुधवार साँझ गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । परीक्षण सफल भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।
ट्राफिक लाइट जडानका लागि ठेकेदारले ट्राफिक लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछाउने प्रयोजनले खनेका नेपालगञ्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्नेलगायतका कार्य सबै सम्पन्न गरेर पोलमा लाइट जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंका इन्जिनियर पदम थापाले नेपालगन्जमा ट्राफिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर पोलमा लाइट तथा कन्ट्रोलर जडानको काम पनि सकिएको ई. थापाले जानकारी दिनुभयो ।
ट्राफिक लाइट जडान गरिएका राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोकमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको र बुधबारबाट गणेशमान चोकमा परीक्षण पनि गरी सफल भएको उहाँले बताउनुभयो ।
‘‘सबै स्थानहरुमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको छ, गणेशमान चोकमा बुधबारबाट परीक्षण गरी लाइट बाल्ने काम सफल पनि भएको छ ।,’’ ई. थापाले भन्नुभयो, ‘‘अब केही स्थानमा फिनिसिङ गर्नुपर्ने काम सकाएर हप्ता दिनभित्र नेपालगन्जमा ट्राफिक लाइट बाल्छौं ।’’
नेपालगन्जमा ट्राफिक लाइट जडान कार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट तथा उपप्रमुख कमरुद्दीन राईको उपस्थितिमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्