बाँके । जिल्ला ट्राफिक कार्यालय बाँके द्वारा सवारी चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

नेपालगन्जको राझा चोक स्थित कार्यालयको आयोजना तथा चौधरी प्यथोलोजी एण्ड डाईग्नोस्टिक सेन्टर र आर एल आँखा उपचार केन्द्रको सहयोगमा ८५ जना चालक तथा सहचालकको आँखा, प्रेसर र हेपाटाइटिस विको स्वास्थ्य परीक्षण गरिएको हो ।

परीक्षणमा १४ जनामा आँखामा सामान्य समस्या रहेको र उनीहरूलाई आँखामा हाल्ने ड्रप वितरण गरेको र अन्य चालक सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताएका छन् । उनले सवारी दुर्घटनाको प्रमुख कारण नै चालकको स्वास्थ्यमा आउने समस्या हो त्यसैले उक्त शिविर राखिएको बताए । उनले “लामो तथा छोटो दूरीका सवारी चालक, रिक्सा चालकलाई आफ्नो स्वास्थ्यको त्यति ख्याल हुँदैन, उनीहरू आफ्नो स्वास्थ्य परिक्षणमा कन्जुस्याइँ गरेको पाइन्छ त्यसैले बेला बेला यस्तो कार्यक्रम गर्दा उनिहरुलाई आफ्नो स्वस्थ्य प्रति सजकता हुनुको साथै सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग रहने” बताए ।

यसअघि कार्यालयको आयोजनामा नेपालगन्ज बसपार्कमा पनि निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालयले यस अघि सवारी दुर्घटना न्यूनीकरणका बाँकेमा ट्राफिक सप्ताह कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया