महिला हिंसाविरुद्धको अभियान अन्तर्गत निःशुल्क कानूनी परामर्श सेवा सुरु 

नेपालगन्ज । सुशासन र कानून क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको छ । आज सोमबार देखि महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले उक्त सेवा शुरु गरेको हो ।

संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी अनुसार दिनभर जम्मा तीन जनालाई निशुल्क कानुनी सेवा प्रदान गरिएको थियो । ती मध्य पहिलो सेवा लिनेमा बाँके जानकी गाउँपालिका वार्ड नं. ३ इन्द्रगाउँका ५० बर्षिया रसिदा वानो बेहना रहेकी छ्न् । विपन्न महिला समेत रहेकि उनलाई जिल्ला अदालतमा मुद्दा दर्ताका लागि मिसिल तयार गरि सहयोग गरिएको छ ।

तिवारीका अनुसार समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने छ । १६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गरिने अध्यक्ष अधिबक्ता तिवारीले बताए ।

संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्र्तगत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दालगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताए।

संस्थाले कानूनको क्षेत्रमा विशेष काम गरिरहेकाले कानूनसंग सम्वन्धित विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ । संस्थाले कानूनी परामर्शसंगै अन्य सरोकारवाला निकायसंगको समन्वयमा सचेतनामुलक अभियानमा पनि जोडिएको छ ।

संस्थाले समुदायस्तरमा पारलिगलमार्फत कानूनी सचेतना अभियान पनि संचालन गरिरहेको छ । स्थानीयलाई कानूनको बारेमा सचेतना, उनीहरुको स्थानीय सरकारमा पहुँच, सरोकारवाला निकायहरु जस्तै अदालत, प्रहरी, प्रशासनलगायतका स्थानमा जान सहजीकरण गरिरहेको संस्थाका अध्यक्ष तिवारीले बताए ।

तपाईको प्रतिक्रिया