वन्यजन्तु प्रभावित क्षेत्रका बालबालिका असुरक्षित, बिद्यालय जान समेत डर

बर्दिया। समुदायमा वन्यजन्तुको ओहोरदोहोरले बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ क्षेत्रमा बालबालिका सुरक्षित हिडडुलमा समेत प्रभाव पारेको पाइएको छ । विद्यालय जाँदा वा फर्किंदा विद्यार्थीहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण अध्ययनमा असर परेको मन्जुश्री शिशु बाटिका माध्यामिक विद्यालयका प्रधानाध्यापक बिमल ज्ञवालीले बताए ।

वन्यजन्तु आक्रमणबाट जोगिन समुदाय तहमै बालबालिकालाई बातावरणीय शिक्षाको आवश्यकता रहेको उनले औल्याए । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले सोमबार मन्जुश्री बाटिका माध्यामिक विद्यालयमा आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रममा ज्ञवाली मात्र नभई अन्य सहभागीले समेत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुले विद्यालयभित्र र बाहिर सचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव दिए । युएसएड नेपालको आर्थिक सहयोगमा द एसिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत विद्यालय सम्वाद गरिएको सीसीएनले जनाएको छ । विद्यालयस्थित वंगालीपुर क्षेत्रमा हात्ती, बाघ र बाँदर लगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्थानीय सुन्दरी थारुको भनाइ छ । ‘वन्यजन्तुको डरले वालबालिकाहरु विद्यालय जानसमेत नमान्ने स्थिति छ, उनले भने । वन्यजन्तुबाट मानविय, खेतीबाली र पशुधनमा क्षति भए राहत वा क्षतिपुर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था छ भन्नेबारे थाहा नपाउँदा पनि लामो समयसम्म भौतारिनु परेको स्थानिय अगुवा कृष्ण परियारले बताए ।

कार्यक्रममा विद्यालयका शिक्षिका पवित्रा सिजालीले चितुवाले विद्यार्थीलाई आक्रमण गरेको घटना सम्झिदै विहान वेलुका ट्युशन पढ्न जाने विद्यार्थीहरु समस्यामा पर्ने गरेको दुःखेसो पोखिन। स्थानीय कालुराम थारुले राहत तथा क्षतिपुर्तिको प्रक्रिया थाहा नहुँदा समस्यामा परेको बताए ।

विद्यालय संवादको सहजीकरण गर्दै बरिष्ठ पत्रकार जनक नेपालले वातावरणीय न्याय, निकुन्ज प्रभावित क्षेत्रका बासिन्दाका मुद्दा र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे प्रस्तुती गरेका थिए । उनले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागिसँग छलफल गरेका थिए । प्रभावित क्षेत्रका बासिन्दाहरुले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिकाबारे अनविज्ञता जनाउँदै सचेतना अभियान चलाउनुपर्ने आवश्यकता औल्याएका थिए ।

सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले विद्यालय संवादले बालबालिकाहरुको जीवनशैली बातावरणमैत्री वन्दै जाने विश्वास ब्यक्त गरे । उनले वालवालिकाहरुले घरमा पुगेर अभिभावकलाई समेत सजिलै कुरा बुझाउन सक्ने भएकाले पनि यो कार्यक्रमले सहयोग पुग्ने बताए ।

विद्यालय संवाद कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, शिक्षक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि गरी ३४ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया