नेपालगन्जमा ट्राफिक लाइट पुनः सञ्चालनमा आए

नेपालगन्ज । बाँकेको नेपालगन्जमा लामो समयदेखि बन्द अवस्थामा रहेको ट्राफिक लाइट पुनः सञ्चालनमा आएको छ। विगत ४/५ महिना सम्म बन्द रहेको उक्त लाइट आज मंगलबार देखि धम्बोझिबाट सञ्चालनमा ल्याइएको अस्थायी ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ सई प्रवीण आचार्यले बताए।

‘नेपालगन्जको विभिन्न चोक-चोकमा लाइट जडान गरेतापनि पूर्णरुपमा पूर्वाधार तयार नभएकोले सिकाईको लागि बालेका थियौ,अहिले भने धम्बोझि चोकको तयार भएकाले यहाँबाट सञ्चालनमा ल्याएका हौं।’उनले भने । उनले केही दिनसम्म धम्बोझिमा सवारीचालक तथा सर्वसाधारणलाई ट्राफिक लाइट नियम सम्बन्धी सचेत समेत गराईने बताए ।

 नेपालगन्जका अन्य पुष्पलाल चोक, कारकाँदो चोक,बिपी चोक सँगै गणेशमान चोकमा जडान गरिएका ट्राफिक लाइट पनि केही दिनमै सञ्चालनमा ल्याउने बताए ।

‘सडक विभागको ट्राफिक महाशाखाबाट पूर्ण रूपमा जिल्लालाई हस्तानतरण नभएकाले ट्राफिक लाइट सञ्चालनमा ढिलाइ भएको हो।’ जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पुष्करराज पन्तले नेत्रपाटीलाई जानकारी दिए । सवारी चालक तथा पैदल यात्रीहरुलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गरी यात्रा गर्न पन्तले अनुरोध गरे । उनले यात्रुहरुलाई ट्राफिक लाइट हेरी यात्रा गर्न समेत अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया