
बाँके। माइती नेपाल नेपालगन्जले एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८जना महिला तथा बालबालिकाको उद्दार गरेको छ । प्रत्येक वर्ष माइती नेपालले अन्तरक्रिया कार्यक्रम आयोजना गरि आफ्नो वार्षिक गतिविधि सार्वजनिक गर्ने गरेको छ । त्यस्तै यस वर्ष पनि आफ्ना गतिविधि सार्वजनिक गर्ने क्रममा माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाले उक्त जान्कारी दिएका हुन् ।
भारतका विभिन्न स्थानमा श्रम तथा यौन शोषणमा परेका १३ जना महिला तथा बालबालिकाको उद्दार गरिएको उनले जानकरी दिए । त्यसैगरी, नेपाल तथा भारतमा हराएका, वैदेशिक रोजगारिमा गएर लामो समयसम्म अभिभावकको सम्पर्कमा नआएका, अभिभावकको संरक्षणमा नभएकाहरुको खोजी तथा उद्दारका लागि ७ सय ७७ निवेदन परेकोमा चार सय सात जनालाई फेला पारेको छ । घरेलु हिंसाका १२ वटा मुद्दा मध्य १० वटाको समाधान गरिएको छ भने दुइवटा रेफर गरिएको पनि संयोजक कोइरालाले बताए ।
बेचबिखनमा पर्ने, हराउने जस्ता घटनामा बाँके जिल्ला नै अग्रणि स्थानमा रहेको बताउँदै सुर्खेत, दांग, बर्दिया, जाजरकोट, दैलेख लगायतका जिल्लाहरु यस्ता घटनाबाट बढी प्रभावित हुने गरेको पाइएको छ ।
बाँके जिल्लाको पालिकागत तथ्यांक हेर्दा कोहलपुर नगरपालिकामा बढी घटनाहरु घट्ने गरेको पाइन्छ। त्यसैगरी राप्तिसोनारी, बैजनाथ, खजुरा पछि नेपालगन्ज लगायत पालिका रहेका छन् ।
पत्रकार महासंघको समन्वयमा माइती नेपाल नेपालगन्जद्वारा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध संचारकर्मिहरुसंगको अन्तरक्रियात्मक कार्यक्रमका अध्यक्ष नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले विश्वका १ सय ९० वटा देशहरुमा यो समस्या ज्वलन्त रहेको र यसको समाधान सबैको लागि चुनौतीपूर्ण रहेको बताए । पछिल्लो समय संगठित अपराधहरु बढिरहेको बताउँदै यसको खबरदारी गर्न र कुकर्मका विरुद्ध हामी चौंथो अंग संचारकर्मिहरु संधै प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया दिनुहोस्