अतिक्रमीत सडक पेटि खाली गर्दै नेपालगन्ज नगर प्रहरी 

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण खाली गर्न थालेको छ । बजार क्षेत्रका सडक तथा फुटपाथ कब्जा गरी सामानहरु राख्नाले आम नागरिकमा हिँडडुल गर्न गाह्रो भएपछि उक्त सडक तथा फुटपाथ खाली गर्न थालिएको हो।

 

आईतबार देखि निरन्तररुपमा सञ्चालन हुनेगरी सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने,फुटपाथमा पसलका होडिङ बोर्ड राख्ने, होल्सेलर बिक्रीका सामान सडकपेटीमै राखी व्यापार व्यवसाय गर्ने कार्य भएको पाइएको छ । यसरी सर्वसाधारण हिँडडुल गर्न बनाइएको फुटपाथमा व्यवसायिक सामग्री राख्नाले आमनागरिकलाई हिँड्न समेत सास्ती भएको छ ।

 

नेपालगन्जको व्यस्त बजार मानिने घरबारीटोलको सडकपेटी यतिकै पनि साँघुरो छ भने त्यसैमाथि व्यापारीहरु आफ्नो होडिङ बोर्ड,कपडा तथा जुत्ता चप्पल र इलेक्ट्रोनिक सामानहरु आधा फुटपाथ छेकिने गरी फिजाएर राख्दा बजारको सौन्दर्य बिग्रीनुकासाथै पैदल यात्रीको हिड्डुलमा समेत गाह्रो भएको छ ।

 

“आज नेपालगन्जका भित्री बजार क्षेत्र बागेश्वरी गेट देखि घरबारीटोलका व्यापारीलाई फुटपाथ खाली गर्न जानकारी गराउँछौं, यदि भोलि देखि व्यापारीले बेवास्ता गरे सामान नै उठाउँछौं।” ड्युटीमा खटिएका नगरप्रहरी हवल्दार चन्द्र रानाले बताए । “आज जानकारी गराउँछौं, बेवास्ता गरे भोलिदेखि निरन्तर अवलोकन गरी कारबाही गर्छौं।” “नालाको तल्लो भाग र माथिल्लो भागको लेवल सम्म कुनै पनि सामग्री झुण्डाइएको भेटिए सामान नै उठाउँछौ” रानाले बताए ।

 

त्यस्तै, नेपालगन्जका व्यस्त सडकमा वान साइड पार्किंग गरिएको छ। तर यहाँका व्यापारीहरुले सूचना बोर्ड देख्दा देख्दै पनि लागू नगरेकोले आज चेतावनी दिन आएको अस्थाइ ट्राफिक कार्यालयका इन्चार्ज वरिष्ठ सई प्रवीण आचार्यले बताए । उनले ” आज मात्र चेतावनी दिँदै हिँडेका छौं,भोलि देखि जथाभावी पार्किंग गर्नेलाई कारबाही अर्थात् दण्ड जरिवाना गराउँनेछौं।” उनले भने । जथाभावी पार्किंग गर्नेलाई कम्तीमा ५ सय जरिवाना गर्दै आएको आचार्यले जनाएका छन् ।

तपाईको प्रतिक्रिया