नेपालगन्ज प्रादेशिक मेलामा दर्शकको उपस्तिथि न्यून



बाँके। साढे दुई दशकदेखि नेपालगन्ज उद्योग वाणिज्य संघले लगाउँदै आएको ‘प्रादेशिक मेला’ यसपटक भने दोश्रो दिनमा पनि दर्शकको उत्साह देखिएको छैन । नेपालगन्जको सडक डिभिजन परिसरमा हिजो माघ १० गते देखि सुरु भएको उक्त मेलामा आज दोश्रो दिन प्राङ्गण नै खाली देखिएको थियो।

आज शुक्रबार मेलाको दोश्रो दिन सोचेजस्तो दर्शकको उपस्थिति नहुँदा मेलाको रौनक सन्तोषजनक नभएको देखिएको छ । मेलाभरी करिब ३ लाख दर्शकको अपेक्षा राखेको आयोजक टीम मेलाको दोश्रो दिनमा देखाएको दर्शकको उपस्थितिले चिन्तित भएको छ ।

मेला बिहीबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका थिए । यद्यपि महोत्सवको शुभारम्भको दिनमा पनि नेपालगन्जबासी तथा पत्रकार कमल न्यौपानेले कुनै चालचुल नभएको सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेका थिए। भने अर्का एक व्यक्ति जो “मेलाको उद्घाटन समारोहमा क. प्रचण्डलाई बोलाउनु गलत हो ।”भन्दै यसै फेसबुक मार्फत आक्रोश व्यक्त गरेका थिए।

पछिल्लो समय कोहलपुर,बाँसगढी लगायत ठाउँमा यस्ता मेला महोत्सव लागिसकेकाले नेपालगन्जको यो मेला चपेटामा परेको यहाँका अगुवाहरूको ठम्याइ छ ।

आज दोश्रो दिनमा चर्चित कलाकार श्रृजना खत्री हाउडेमाया,सज्जन धामी र ऋतु कँडेल लगायतको प्रस्तुति रहेको थियो । यद्यपि मेलामा ख्याति प्राप्त कलाकारको प्रस्तुति भएतापनि मेलाको स्टेजमा नत आयोजक टिम नत फिल्डमा दर्शकको चार्म थियो ।

एकातिर मेलामा दर्शकको नै उपस्थिति कम भएपछि लाखौं खर्च गरेर राखिएको खेलकुद तथा अन्य सामानहरुका स्टल राखेका सञ्चालक पनि चिन्तित छन् । यस्तो उपस्तिथिले आफ्नो लगानी डुब्न सक्ने उनीहरूको आशंका रहेको छ ।

मेलामा करिब ३ सय ५० अढि व्यवसायिक स्टलहरु खडा गरिए पनि लगभग लगभग ३० स्टलघर पहिलो दिनमै रातो पर्दाले छोपेर राखेको पनि सामजिक सञ्जाल मार्फत देख्न सकिन्छ ।

“उद्योग,व्यापार र कृषि जडिबुटी,रोजगार र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन” भन्ने मूल नाराका साथ नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको यो मेला माघ १० देखि २२ गते सम्म संचालन हुने छ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार