
बाँके। नेपाल पत्रकार महासंघ बाँकेले हाल नेपालगन्जमा लागिरहेको ‘प्रादेशिक महोत्सव -२०८१’ मा पत्रकारहरुलाई भिडियो तथा रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातारण निर्माणका लागि एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘ प्रादेशिक महोत्सव – २०८१’ मा पत्रकारहरुको सहज प्रवेश,पहुंच र रिपोर्टिङमैत्री वातावरणको लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले चासो व्यक्त गर्दै आएको तर नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष,प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सवस्थलमा प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजप्रति नेपाल पत्रकार महासंघ बाँकेको गंभीर ध्यानाकर्षण रहेको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमा पत्रकार मसंघले महोत्सवमा माघ १२ गते शनिबारको दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाङ्कन गरिरहेको अवस्थामा न्यूजबाँके अनलाइन मिडियम कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुर्व्यवहार प्रति खेद प्रकट गरेको छ । साथै यस्ता घटना नदोहोर्याउन समेत महोत्सव आयोजकलाई सचेत गरेको छ। साथै पत्रकार महासंघ बाँकेले सम्पूर्ण पत्रकारलाई रिपोर्टिङ क्रममा ‘ पत्रकारिता आचारसंहिता’ पालना गर्दै मर्यादित पत्रकारिता गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलिको हस्ताक्षर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्