सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ



काठमाडौं। सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति जिसस प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीका प्रवक्ता इन्स्पेक्टर सागर पौडेलले जानकारी दिए।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ।

गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो। उनी उक्त सहकारीको निवर्तमान उपाध्यक्ष हुन्।

सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

जिसस प्रमुख थापा म्याग्दीमा सञ्चालित बुद्ध एकेडेमीका सञ्चालक हुन्। यही स्कुलका सञ्चालकहरूको सल्लाहमा २०६५ मा सहकारी खोलिएको थियो।

सहकारीको समस्या लुकाउन लेखापरीक्षण प्रतिवेदनसमेत नक्कली तयार पारेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

साभार

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार