जब चालक विनाको ट्याक्सी लिन आयो



अमेरिकन जियोफिजिकल युनियनको निम्तोमा क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्को शहरमा अवस्थित मस्कोन सेन्टरमा हुने विश्वव्यापी सम्मेलनमा सामेल हुन विगत २३ वर्षदेखि प्राय: हरेक वर्ष त्यहाँ जाने गरेको छु।

डिसेम्बर महिनाको दोस्रो हप्तामा हुने यो सम्मेलनमा विशिष्ट दर्जाका वैज्ञानिकहरूले पृथ्वी र अन्तरिक्ष सम्बन्धी भर्खरै भएका वा भइरहेका विशिष्ट श्रेणीका अनुसन्धानहरु प्रस्तुत गर्छन्। प्रदर्शनी हलमा अत्याधुनिक प्रविधिको प्रदर्शन गरिएको हुन्छ।

यसबाहेक विश्व प्रसिद्ध राजनीतिज्ञ, लेखक, पत्रकार आदिले पनि मुख्य अतिथिको रूपमा बोल्छन्। मेरो अनुसन्धानको क्षेत्रमा हुने यो सबैभन्दा ठूलो भेला हो।

पच्चीसदेखि तीस हजार जना सहभागी हुने यो एकहप्ते सम्मेलनमा नेपाल र विदेशबाट गरी करिब एक सय पचास जना नेपाली सहभागी हुने गर्छन्। सम्मेलनको व्यस्तताको बाबजुद यसो फुर्सद मिलाएर शहर पनि घुम्ने गरेको छु। जति घुमे पनि नअघाउने यो शहरले लामो इतिहास बोके पनि झन् झन् जवान भइरहेको जस्तो लाग्छ मलाई।

उदाहरणको लागि सन् १८८८ देखि लगातार रुपमा चलेको केवलकार हेर्दा यो शहर बूढो लाग्न सक्छ भने सन् २०२३ देखि चल्न थालेको चालकरहित (रोबो) ट्याक्सी देख्दा भर्खरको बच्चा जस्तो लाग्छ। केवलकार पहिले नै चढिसकेको हुनाले यसपालि रोबो ट्याक्सी चढ्न रहर थियो।

सान फ्रान्सिस्कोलाई छोटकरीमा ‘सान फ्रान्क’ वा ‘फ्रिन्स्को’ नामले पनि चिनिंदो रहेछ। हरेक शहरका आ-आफ्नै विशेषता भए जस्तै यो शहरको पनि आफ्नै पहिचान छ।

मैले के देखें भने अन्य अमेरिकी शहरको तुलनामा यो शहर त्यस्तो सफा रहेनछ। बाटैभरि होमलेस मान्छेहरु छन्, यद्यपि लस एन्जेलस र न्युयोर्कमा जति भने होइन। बाटोमा हिंड्दा डुङडुङ्‍ती गाँजाको गन्ध आउनु सामान्य रहेछ। गाँजा किन्न र खान पाइँदोरहेछ क्यालिफोर्नियामा।

यो शहरलाई अनधिकृत रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुलाई पनि मानवताको आधारमा सकेसम्म सबै सुविधा दिने शहर अर्थात् ‘स्याँन्क्चुअरी सिटी’ भनेर पनि चिनिंदो रहेछ। अरु धेरै विशेषता खोतलेर खोतली नसक्नु रहेछन्।

न धेरै जाडो न धेरै गर्मी। म त भन्छु यहाँ आउन मौसम कुर्नुपर्दैन, बाह्रै महिना आए हुन्छ। भनिन्छ, मौसम बदलिरहने हुनाले एउटा ज्याकेट गर्मी महिनामा पनि बोकेर आउनु। घरी–घरी हुस्सुले पूरै शहरलाई सुटुक्क आफ्नो पोल्टामा लुकाउँदो रहेछ। त्यही हुस्सुले बेला-बेलामा मलाई म्वाइँ खाएर कता हराउँछ कता। क्रिसमसको बेला भएकोले पूरै शहर क्रिसमस ट्री र रंगीविरंगी बत्तीहरुले बिहेघर सजिए झैं सजिएको छ।

प्राय: हरेकपल्ट जाँदा नघुमी चित्त नबुझ्ने ठाउँहरु हुन्- गोल्डेन गेट ब्रिज, फिसरमेन्स वार्फ, अल्काट्राज, बोनिता लाइट हाउस, युनियन स्क्वायर, मेसी डिपार्टमेन्ट स्टोर र युएन प्लाजा। अलि फुर्सद भए नापा भ्याली गएर वाइन चाख्न मन लाग्छ भने नजिकै रहेको सिलिकन भ्याली पनि गइहाल्छु। क्यालिफोर्निया एकाडेमी अफ साइन्सेसमा पनि जान्छु बेलाबेलामा। फेरि ट्विन पिक्स, चाइना टाउन र डाउन टाउन नघुमी चित्तै बुझ्दैन। नर्थ बिच, कोइट टावर पनि घुम्नैपर्ने ठाउँहरु हुन्। भनिन्छ- १५० भन्दा बढी घुम्ने ठाउँ छन् यहाँ।

भोक लाग्दा भरसक नेपाली रेस्टुरेन्ट खोज्ने गरेको छु। खुशी लाग्छ अहिले केही पुराना केही नयाँ गरेर १०-१२ वटा नेपाली रेस्टुरेन्ट खुलेका छन्। ठूलो शहरको मुटुमा यति धेरै नेपाली रेस्टुरेन्ट मैले अन्त कतै देखेको छैन। मोमो, थाली, सेकुवा, पक्कु, साँधेको आलु र टिमुरको छोप खान पाएपछि नेपालको सम्झना झनै ताजा बनिदिन्छ। अन्य रेस्टुरेन्टहरु पनि प्रशस्तै भएकोले खानेकुरामा न्युयोर्कसँग प्रतिस्पर्धा भए जस्तो लाग्यो। अलिक समय मिलेमा विशुद्ध नेपाली खाना खान सन्तोष गिरीलाई फोन गरेर सन्नीभेलमा अवस्थित गुर्खा किचन जान्छु। कहिलेकाहीं सेलरोटी खान डेभिसमा बस्ने शान्ति पौडेलको घरमा पुग्छु।

बेलुका मलाई मेरिअट मर्की होटलको ३९औं तलामा अवस्थित ‘द भ्यू’ बारमा गएर पिउन मन लाग्छ। सिलिङदेखि भुइँसम्म ठूला–ठूला सिसाका भित्ताहरु भएकोले शहरको ३६० डिग्री भ्यू हेर्न पाइने रहेछ। सूर्यास्तको बेला र राति शहर झिलिमिली भएपछि यहाँ आउन रमाइलो हुन्छ। महँगो भने अति नै। एक गिलास वाइनको २५ डलर लग्यो योपालि।

सन् १८७३ देखि चलिरहेको केवलकार चढ्न पनि रमाइलो लाग्छ मलाई। खासगरी राति ती केवलकार झिलिमिली बत्तीले सजाइएको हुने रहेछ। पावेलबाट फिसरमेन्स वार्फ जाने केवलकारमा चढ्न रमाउँछु म। स्थानीयभन्दा टुरिस्ट बढी यात्रा गर्ने रहेछन्। यति पुरानो प्रविधिले चल्ने केवलकार संसारमा अन्त कतै छैन। बल लगाएर गियर बदल्नुपर्ने रहेछ। त्यो गियर बदल्ने डन्डा पनि मान्छेजति नै अग्लो रहेछ।

ता भर्खरै सञ्चालन भएको रोबो ट्याक्सी पनि यहींको सडकमा चलिरहेको छ। शहरी यातायातको द्रुत गतिमा भइरहेको विकास हेर्दा रोबो ट्याक्सीले एउटा नयाँ युगको सुरुवात गरेको छ। चल्न दिने कि नदिने भन्ने विषयमा निर्वाचित प्रतिनिधिहरु, मजदुर संगठन र जनताबीच घम्साघम्सी परेको रहेछ। व्यापक विरोधका बाबजुद सन् २०२३ को अगष्टमा क्यालिफोर्निया आयोगले गुगलले सञ्चालन गरेको ‘वेमो’ र जेनेरल मोटर्स कम्पनीले सञ्चालन गरेको ‘क्रुज’ लाई सान फ्रान्सिस्कोमा चल्न दिने अनुमति दिएको थियो।

अबको केही वर्षमा मजदुरी गरेर खाने धेरै ट्याक्सी चालकको रोजीरोटी खोसिने पक्का छ। यी दुई ठूला कम्पनीबाट सञ्चालित रोबो ट्याक्सीबाट केही धनीमानीलाई मात्र फाइदा हुन्छ। उनीहरु अझ धनी हुन्छन् तर धेरै गरिबको उठीबास हुन्छ।

डिसेम्बर २०२३ सम्ममा सान फ्रान्सिस्को सहित फिनिक्स, एरिजोना र अस्टिन, टेक्सासमा यस्ता ट्याक्सी चलेका रहेछन्। लस एन्जेलस शहरमा छिट्टै आउँदैछ भन्ने सुनें। पछि अरु धेरै शहरमा छ्यासछ्यास्ती पाउने कुरामा कुनै शंका छैन।

‘वेमो वान’ एप मेरो आइफोनमा डाउनलोड त गरें तर खुलेन किनकि कोड चाहिने रहेछ। कोडको अनुरोध गरेर पर्खनु बाहेक अर्को उपाय थिएन। दिनहुँ चेक गर्छु, कोड आउँदै आउँदैन।

दश वर्षअघि ‘चालकरहित ट्याक्सीमा चढ्छस् ?’ भनेर कसैले सोधेको भए कुनै पनि हालतमा चढ्दिनँ भनेर जवाफ दिन्थें होला। आज चढ्न आतुर भएको छु। प्रविधिमा अलि बढी विश्वास गर्न थालेको छु। अनि आफैंलाई भन्छु, मैले हाँक्ने कार पनि त पहिलेभन्दा अहिले धेरै कुरामा स्वचालित भइसकेको छ।

एक साँझ त्रिशारा नेपाली रेस्टुरेन्टमा डिनर खाँदै गर्दा मेरा जुनियर साथीहरु ग्यामी र शिक्षाले हामी त कुनै हालतमा नचढ्ने भने। उनीहरुले त्यसो भन्दा अलिअलि डर पनि लाग्यो। तैपनि चढेर अनुभव बटुल्नुपर्‍यो भन्ने संकल्प गरें। फेरि पढें, नयाँ प्रविधिको प्रयोग हुँदै गर्दा पनि विगतका वर्षहरुमा एकाध सानातिना दुर्घटना बाहेक ठूला दुर्घटना भएका रहेनछन्।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार